ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न, क्यालिफोर्निया स्टेट बारमा उजुरी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न उठेको छ।

जकारियाले सन् २०११ मा क्यालिफोर्नियाको पेपरडाइन विश्वविद्यालयमा कानुन अध्ययन गरेकी थिइन्।

यद्यपि अमेरिकामा कानुनको डिग्रीले स्वत: कानुन अभ्यास गर्ने इजाजत दिँदैन।

वाल स्ट्रिट जर्नलका अनुसार जकारियाले क्यालिफोर्निया बार परीक्षा त दिइन् तर पास हुन सकिनन्।

जकारिया भन्छिन्, ‘मैले चीनमा अन्तर्राष्ट्रिय लेनदेन कानुनमा काम गरेँ र सबै आवश्यक योग्यता हासिल गरेँ।’

उनको लिंक्डइन प्रोफाइलअनुसार उनी २०११ देखि २०१३ सम्म बेइजिङको एक कानुन फर्ममा सहयोगीको भूमिकामा थिइन्। विदेशी नागरिकलाई चीनमा कानुन अभ्यास गर्ने अनुमति छैन, यद्यपि उनीहरूले कानुन फर्ममा अन्य पदमा काम गर्न पाउँछन्।

बुधबार क्याम्पेन फर एकाउन्टेबिलिटी नामक एक निगरानी संस्थाले क्यालिफोर्निया स्टेट बारमा उनीविरुद्ध उजुरी दर्ता गराएको छ।

संस्थाले जकारियाले इजाजतपत्रबिनै कानुन अभ्यास गर्ने योग्यता रहेको दाबी गरेको हुन सक्ने आरोप लगाएको छ र यस विषयमा अनुसन्धानको माग गरेको छ।

जकारियाले न्युयोर्क टाइम्ससँग भनेकी छन्, ‘जब म टेलिभिजनमा देखा पर्न थालेँ, तब मैले पेपरडाइनलाई आफ्नो परिचय कसरी दिने भनेर सोधेँ। यसपछि विश्वविद्यालयका अध्यक्षले भने( तपाईंले आफूलाई लयर भन्न सक्नुहुन्छ तर अटर्नी भन्न मिल्दैन।’

ह्वाइट हाउसले भने जकारियाको बचाउ गरेको छ। सञ्चार निर्देशक स्टिभन चेउङले उनलाई ‘अत्यन्त योग्य र तीक्ष्ण’ भनेर वर्णन गरेका छन्।

जकारियाले चीनमा रहँदा अन्तर्राष्ट्रिय वित्त निगम र विश्व बैंकको बाहिरी कानुनी सल्लाहकारका रूपमा काम गरेको दाबी पनि गरेकी छन्।

यस विषयमा ती संस्था र चिनियाँ कानुनी फर्मको प्रतिक्रिया लिने प्रयास भइरहेको बीबीसीले जनाएको छ।