भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ।
भारतमा सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेर नेपाली बजारमा समेत उल्लेख्य मात्रामा आयात र बिक्री वितरण भइरहेको प्रियागोल्डका विस्कुटहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात र बिक्रीमा रोक लगाएको हो।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण ९एफएसएसएआई०ले असोज ३१ मा जारी गरेको सूचनामा उक्त ब्राण्डको विस्कुटमा गाईवस्तुलाई खुवाउने चोक्कर प्रयोग गरेको भेटिएको उल्लेख छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोही सूचनालाई आधार मानेर नेपालमा प्रियागोल्डका विस्कुटहरु आयातमा रोक लगाएको हो।
दशैंको कारण सार्वजनिक बिदा भएकाले विभागको उच्च व्यवस्थापन समूह र प्रोडक्ट रिकलब प्राविधिक समिति पदाधिकारीहरू कार्यालयमा उपस्थित नभएका कारण विभागले आइतबार भर्चुअल बैठक गरेर प्रियागोल्डका उत्पादन आयात रोक्ने निर्णय गरेको थियो।
बैठकमा विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसमेत सहभागी रहेको सूचनामा उल्लेख छ।
विभागले कात्तिक १ मा सूचना जारी गर्दै प्रियागोल्डका विस्कुटहरु आयात नगर्न र नेपालमा आयात भइसकेका त्यस्ता उत्पादनको बिक्री वितरणमा समेत रोक लगाइएको छ।
प्रियागोल्ड बिस्कुटमा फाइबरको स्रोतका रूपमा चोकर प्रयोग गरेको भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पत्ता लगाएको थियो।
त्यस्तो चोकर राखिएका बोरामा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने स्पष्ट उल्लेख रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
त्यस्तै, कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता र कारखाना परिसरको उचित मर्मतसम्भारमा समेत कमजोरी भेटिएको जनाइएको छ।
विभागले नेपालका आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट र सम्बन्धित उत्पादन तत्काल फिर्ता गर्न निर्देशन समेत दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा ९२० र ९४० बमोजिम जारी आदेशअनुसार सम्बन्धित व्यवसायीले उक्त उत्पादन बिक्री वितरण गर्न वा गराउन नपाउने विभागको सूचनामा उल्लेख छ।
विभागले बजारबाट फिर्ता ल्याइएका उत्पादनको उचित भण्डारण गरी अभिलेख राख्न भनेको छ।
त्यस्ता उत्पादन नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका प्राविधिक कर्मचारीको रोहबरमा नष्ट गर्नुपर्ने र उत्पादन नष्ट गरेपछि विभागलाई जानकारी गराउन विभागले निर्देशन दिएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले सूर्या फुड एन्ड एग्रो लिमिटेडको अनुमतिपत्र निलम्बन गरेको छ।
