फ्रान्सका राष्ट्रपतिद्धारा हिंसात्मक प्रदर्शनमा सुरक्षा कमजोर स्वीकार- गृहमन्त्रीको राजीनामा अस्वीकार

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर भएका हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको स्वीकार गरेका छन् । तर उनले गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा भने अस्वीकार गरेका छन् ।

राष्ट्रपति म्याक्रोंले सुरक्षा योजना निर्माण र गुप्तचर सूचना संकलनमा भएका त्रुटिको पारदर्शी छानबिन गर्न निर्देशन दिएका छन् ।

सामाचार एजेन्सी रोयटर्सका अनुसार आज सोमबार राष्ट्रपति म्याक्रोंले गृहमन्त्रीको राजीनामा अस्वीकार गर्दै संकट समाधानका लागि उनलाई जिम्मेवारीमै राख्ने निर्णय गरेका हुन् ।

प्रदर्शनका क्रममा देशभर २ हजार ४०० जनाभन्दा धेरै व्यक्तिहरु पक्राउ परेका छन् भने एक हजारभन्दा धेरै सुरक्षाकर्मी घाइते भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ । यद्यपि यो संख्या अझै धेरै भएको अनुमान छ ।

प्रदर्शनका क्रममा विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ ।

फ्रान्समा विरोध प्रदर्शनकारीले १४० वर्ष पुरानो ऐतिहासिक टाउन हलमासमेत आगो लगाइदिएका छन् । आगजनीबाट टाउनहल ढलेको दृष्य भिडियोहरुमा देखिन्छ ।

मध्य फ्रान्सको लिमोज सहरस्थित ऐतिहासिक नगरपालिकाको भवनमा समेत आगजनी गरिएको छ ।

म्याक्रोंले हिंसात्मक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक र लुटपाट तथा तोडफोडमा संलग्न समूहलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताएका छन् । उनले हिंसाका घटनामा वामपन्थी उग्रपन्थी समूहका कार्यकर्ताको संलग्नता रहेको आरोपसमेत लगाएका छन् ।

प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्स सरकारको सुरक्षा तयारी र प्रहरीको परिचालन क्षमतामाथि प्रश्न उठेको एफपीले जनाएको छ । विपक्षी राजनीतिक दलका नेताहरूले सरकारको आलोचना गर्दै गृहमन्त्रीको जिम्मेवारीमाथि प्रश्न उठाएका छन् ।

गृहमन्त्री नुनेजले पनि घटनाको जिम्मेवारी आफूले महसुस गरेको बताएका छन् । उनले प्रहरी र सुरक्षा निकायले केही स्थानमा परिस्थितिमाथिको नियन्त्रण गुमाएको स्वीकार गरेका छन् । तर, म्याक्रोंले तत्काल नेतृत्व परिवर्तन गर्नुको सट्टा सुरक्षा व्यवस्थामा भएका कमजोरी सुधार्न नुनेजलाई निर्देशन दिएका छन् ।

म्याक्रोंले सुरक्षा निकायलाई प्रदर्शनकारीको गतिविधि नियन्त्रण गर्न नयाँ रणनीति अपनाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक तयारी गर्न भनेका छन् ।