आज बडादशैं : शुभ साइत- बिहान १०:२६ बजे

आज बडादशैं ! यस वर्ष विजयादशमीको उत्तम साइत आज कार्तिक ०४ गते बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल…सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो दशैं ।

नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमश: सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ ।

उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।

बौद्ध अनुयायीहरूको सेतो टीका

यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् ।

फरक केवल यत्ति छ कि हिन्दुहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

घरको मूल टीका लगाएर ससुराली, मामाघर या ठुला बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्ययतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।

दशहरा

वैदिक सनातन धर्मानुयायीहरूले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो ।

दशहराको अर्थ हो, दशानन रावणको पराजय (दशानन अर्थात् दश . दस  आनन . मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।

घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ ।

फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् ।

नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दशैंको ऊर्जायुक्त रङ्गले छोएको छ ।

टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद

ॐ

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

ॐ

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते ।