नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण भोली कात्तिक ९ गते सोमबारदेखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) र सहभागी टोलीहरू तेस्रो संस्करणको अन्तिम तयारीमा व्यस्त छन् । क्यानले तेस्रो संस्करणको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।
यसपटक पनि विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी हुँदैछन् ।
कर्णाली याक्सले सन् २०२४ मा आयोजित पहिलो संस्करणदेखि नै एनपीएलमा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमै कर्णालीले क्वालिफायर चरणमा स्थान बनाएको थियो ।
तर, कर्णालीले दोस्रो संस्करणमा त्यो उपलब्धि दोहोर्याउन सकेन । यसपटक पनि कर्णाली याक्स राष्ट्रिय टोलीका अनुभवी खेलाडी सोमपाल कामीकै कप्तानीमा ओर्लनेछ ।
पहिलो संस्करण
सन् २०२४ मा आयोजित पहिलो संस्करणमै कर्णाली याक्सले कमालको प्रदर्शन गरेको थियो । सोमपाल कामीको कप्तानी र ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा कर्णाली याक्स क्वालिफायर चरणसम्म पुगेको थियो ।
पहिलो संस्करणको लिग तालिकामा कर्णाली याक्स चौथो हुँदै एलिमिनेटर चरणमा पुगेको थियो । लिग चरणमा कर्णालीले सातमध्ये चार जित र तीन हारबाट कुल आठ अंक बटुलेको थियो ।
चितवन राइनोज, कर्णाली याक्स र काठमान्डु गुर्खाजको समान आठ–आठ अंक भएपछि नेट रन रेटका आधारमा चितवन र कर्णाली एलिमिनेटर चरणमा पुग्न सफल भएका थिए ।
कर्णालीले याक्सले हारबाट एनपीएल यात्राको प्रारम्भ गरेको थियो । आफ्नो पहिलो खेलमा कर्णालीको टोली उक्त संस्करणको च्याम्पियन जनपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा पनि कर्णाली याक्सको टोली काठमान्डु गुर्खाजसँग तीन विकेटले स्तब्ध: बनेको थियो । तर, तेस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो ।
यसैगरी, आफ्नो चौथो खेलमा कर्णालीले विराटनगर किङ्समाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । पाँचौँ खेलमा पनि कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।
छैटौँ खेलमा कर्णालीले लुम्बिनी लायन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको थियो । लिग चरणको अन्तिम खेलमा भने कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
यसैगरी, एलिमिनेटर चरणको भिडन्तमा पनि कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले हराउँदै क्वालिफायर–२ मा स्थान पक्का गरेको थियो ।
तर, दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सको टोली च्याम्पियन जनकपुर बोल्ट्ससँग दुई विकेटले पराजित भएको थियो । पहिलो संस्करणमा कर्णालीको जनकपुरसँग यो दोस्रो हार थियो ।
पहिलो संस्करणमा कर्णालीका लागि विलियम बोसिस्टोले सात खेलमा दुई अधंशतकको मद्दतले एक सय ९४ रन बनाएका थिए । चाडविक वाल्टनले पनि नौ खेलमा एक सय ८३ रन जोडेका थिए ।
कर्णाली याक्सका लागि सर्वाधिक विकेट भने विपिन शर्माले लिएका थिए । उनले आठ खेलमा १३ विकेट हात पारे । उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा संयुक्त रूपमा तेस्रो स्थानमा थिए ।
पहिलो संस्करणमा कर्णालीको टोलीमा शिखर धवन, मौसम ढकाल, दीपक डुम्रे, रित गौतम, गुलसन झा, बाबर हायात, देव खनाल, नन्दन यादव, जिसन मक्सुदलगायतका खेलाडी पनि थिए ।
दोस्रो संस्करण
सन् २०२५ मा आयोजित एनपीएलको दोस्रो संस्करणमा भने कर्णाली याक्सले अघिल्लो संस्करणको उपलब्धि पनि दोहोर्याउन सकेन । कर्णालीको टोली लिग चरणबाटै बाहिरिन पुग्यो ।
कर्णाली याक्स सातमध्ये केवल दुई खेलमा जित र पाँच खेलमा हारको नतिजाबाट चार अंक बटुल्दै तालिकाको छैटौँ स्थानमा रह्यो ।
आफ्नो पहिलो खेलमा कर्णाली याक्सको टोली चितवन राइनोजसँग चार विकेटले पराजित भयो । दोस्रो खेलमा भने कर्णालीले उक्त संस्करणको च्याम्पियन लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो ।
कर्णाली याक्सको टोली आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । चौथो खेलमा पनि विराटनगर किङ्सले कर्णालीलाई तीन विकेटले हरायो ।
यसैगरी पाँचौँ खेलमा कर्णालीको टोली काठमान्डु गोर्खाजसँग पाँच विकेटले स्तब्धस् बन्यो । छैटौँ खेलमा पनि पोखरा एभेन्जर्सले कर्णालीलाई ३४ रनले हराएको थियो ।
तर, लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सफलता हात पार्यो । आफ्नो अन्तिम खेलमा कर्णालीले साविक विजेता जनकपुर बोल्ट्समाथि तीन रनको जित हासिल गर्यो ।
दोस्रो संस्करणमा कर्णाली याक्सका लागि मार्क वाटले एक शतक र एक अर्धशतकको मद्दतले कुल दुई सय ४६ रन बनाएका थिए । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा थिए ।
यसैगरी, दोस्रो संस्करणमा कर्णाली याक्सका लागि सर्वाधिक विकेट नन्दन यादवले लिए । उनले सात खेलमा १० विकेट लिएका थिए ।
दोस्रो संस्करणमा पनि सोमपालकै कप्तानीमा रहेको कर्णालीको टोलीमा विलियम बोसिस्टो, गुलसन झा, म्याक्स ओ’डड, दीपक डुम्रे, प्रियांक पाञ्चाल, नजिबुल्लाह जदरानलगायतका खेलाडीसमेत थिए ।
तेस्रो संस्करण
एनपीएलको तेस्रो संस्करणमा पनि कर्णाली याक्स आफ्नो पुरानै कप्तान सोमपाल कामीको नेतृत्वमा मैदानमा ओर्लने भएको छ । उनी टोलीका मार्की खेलाडी पनि हुन् ।
कर्णालीको प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र कर्णाली याक्सका क्रिकेट निर्देशक पनि हुन् ।
कर्णाली याक्सले तेस्रो संस्करणका लागि सोमपाल कामी, गुलसन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युनिसविक्रम सिंह ठकुरी र युवराज खत्रीलाई टोलीमा ‘रिटेन’ गरेको छ ।
कर्णाली याक्सले तेस्रो संस्करणका लागि भएको अक्सन खेलाडी खरिद–बिक्री प्रक्रियामा कुल २६ लाख रुपैयाँ खर्च गर्यो । कर्णालीले अक्सनबाट ६ जना खेलाडी किन्यो ।
अक्सनमा कर्णालीले शुभ कंसाकारका लागि सर्वाधिक १० लाख रुपैयाँ खर्च गर्यो । विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाई पनि पाँच–पाँच लाख रुपैयाँमा खरिद गर्यो ।
यसैगरी, कर्णाली याक्सले अक्सनमार्फत दिवान पुन, सचिन शर्मा र सूर्य तामाङलाई दुई–दुई लाख रुपैयाँमा खरिद गर्यो ।
विदेशी खेलाडी
कर्णाली याक्सले तेस्रो संस्करणका लागि हालसम्म दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका साहिबजादा फरहान, स्कटल्यान्डका मार्क वाट, बंगलादेशका अकबर अली, बंगलादेशकै अरिफुल इस्लाम र पाकिस्तानका हुसैन तलत गरी ६ जना विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ ।
बलिङ अलराउन्डर मार्क वाटले एनपीएलको अघिल्लो संस्करण पनि कर्णालीबाटै खेलेका थिए । बायाँहाते बलर मार्कले पहिलो संस्करणमा सात खेल खेल्दै पाँच विकेट लिएका थिए ।
यसैगरी, ३० वर्षीय मार्क वाटले दोस्रो संस्करणमा एक शतक र एक अर्धशतकको मद्दतले कुल दुई सय ४६ रन पनि बनाएका थिए । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौँ स्थानमा थिए ।
उनले स्कटल्यान्डका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले ९२ एकदिवसीय अन्तर्राष्ट्रिय कुल एक सय २१ विकेट लिएका छन् ।
यो ढाँचाको क्रिकेटमा उनले दुई अर्धशतकसहित कुल नौ सय ३२ रन पनि बनाएका छन् । उनले ८३ टी–२० अन्तर्राष्ट्रियमा ९४ विकेट हात पारेका छन् ।
यो ढाँचाको क्रिकेटमा उनले तीन सय २१ रन पनि बनाएका छन् । मार्क वाटले विश्वभरीका विभिन्न चर्चित फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।
यसैगरी, अकबर अली विकेटकिपर ब्याट्सम्यान हुन् । यद्यपि, उनले हालसम्म बंगलादेशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।
२५ वर्षीय अकबर अलीले प्रथम श्रेणीको २९ खेलमा तीन शतक र ६ अर्धशतकको मद्दतले कुल एक हजार चार सय ५१ रन बनाएका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले तीन विकेट पनि लिएका छन् ।
यसैगरी, उनले एक सय ६ लिस्ट ‘ए’ क्रिकेटमा एक शतक र १४ अर्धशतकको मद्दतले कुल दुई हजार दुई सय २२ रन बनाएका छन् । उनले दुई विकेट पनि हात पारेका छन् ।
यी क्षमतावान खेलाडीले ८६ वटा टी–२० क्रिकेटमा दुई अर्धशतकको मद्दतले कुल एक हजार एक सय ८० रन बनाएका छन् ।
यसैगरी, बंगलादेशका युवा खेलाडी अरिफुल इस्लामले उमेर समूहको क्रिकेटबाट आफ्नो पहिचान बनाएका हुन् । उनले बंगलादेशको यू–१९ टोलीबाट विश्व कप पनि खेलिसकेका छन् ।
उमेर समूह हुँदै अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको छ । अस्ट्रेलियामा भएको टप इन्ड टी–ट्वान्टी सिरिजमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए ।
उक्त शृंखलामा उनले सात खेलमा कुल दुई सय १९ रन जोडेका थिए । उनको ब्याटिङ औसत ३६.५० र स्ट्राइक रेट १३८.६० रहेको थियो ।
उक्त शृंखलामा दुई अर्धशतक बनाएका उनी सर्वाधिक रन बनाउने ब्याटरको सूचीको पनि तेस्रो स्थानमा रहेका थिए ।
उनीसँग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव पनि छ । उनले अघिल्लो संस्करणमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए । दायाँ हाते युवा ब्याटर अरिफुल तीव्र गतिमा रन बनाउन खप्पिस छन् ।
यसैगरी, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई एनपीएलको इतिहासमा सहभागीमध्ये सबैभन्दा सफल खेलाडी हुन् ।
‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौं । यसपटक डेभिड मिलर, पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहान र हुसैन तलतलाई अनुबन्ध गरेका छौं । यसले कर्णाली याक्स र एनपीएलमात्र नभई, पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले भनेका छन् ।
उनले समर्थकको चाहनाअनुसार नै चर्चित खेलाडीहरूलाई टोलीमा भित्र्याएको बताए । ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेविड मिलर, फरहान र तलतजस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गरेका हौँ,’ उनी भन्छन् ।
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वभरका चर्चित फ्रेन्चाइज लिगहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले आईपीएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स–११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा उनी मुख्य खेलाडी थिए ।
मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल दुई हजार आठ सय चार रन बनाएका छन् । यसक्रममा उनले दुई शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
कर्णाली याक्सको खेल तालिका
एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सले पहिलो खेल कात्तिक १० गते पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्ससँग खेल्नेछ । खेल कीर्तिपुर मैदानमा दिवा–रात्री रूपमा १७:०० बजे शुरू हुनेछ ।
यसैगरी, कर्णालीले आफ्नो दोस्रो खेल कात्तिक १२ गते विराटनगर किङ्ससँग खेल्नेछ । कर्णाली र विराटनगरबीचको खेल पनि दिवा–रात्री रूपमा १७स्०० बजे शुरू हुनेछ ।
कर्णाली याक्सले आफ्नो तेस्रो खेल कात्तिक १६ गते काठमान्डु गोर्खाजसँग खेल्नेछ । उक्त खेल कीर्तिपुर मैदानमा १२:३० बजे शुरू हुनेछ ।
यसैगरी, आफ्नो चौथो खेलमा कर्णाली याक्सले कात्तिक २० गते सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । उक्त खेल पनि १२:३० बजे नै शुरू हुनेछ ।
यसैगरी, कर्णाली याक्सले आफ्नो पाँचौँ खेल कात्तिक २३ गते पोखरा एभेन्जर्ससँग खेल्नेछ । कर्णाली र पोखराबीचको खेल १२:३० बजे शुरू हुनेछ ।
यसैगरी, आफ्नो छैटौँ खेलमा कर्णाली याक्सले कात्तिक २६ गते साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ । कर्णाली र लुम्बिनीबीचको खेल दिवा–रात्री रूपमा १७:०० बजे शुरू हुनेछ ।
यसैगरी, कर्णाली याक्सले लिग चरणको आफ्नो अन्तिम खेल कात्तिक २९ गते चितवन राइनोजसँग खेल्नेछ । उक्त खेल १२:३० बजे शुरू हुनेछ ।
लोकान्तरबाट साभार