मुलुक, नागरिक र संविधान यही हो राष्ट्रिय अडान !

राष्ट्रको स्वाभिमानभन्दा ठूलो कुनै दल छैन र हुँदैन । राष्ट्रिय हितमाथि सम्झौता गर्ने जोसुकैलाई नागरिकको प्रश्न र लोकतान्त्रिक बहिष्कार गरिनुपर्छ । तर, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतसँग सम्बन्ध सुधार गर्ने नाममा नेपालीको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउने अधिकार कसरी पाए ? कसले दियो ?

मित्रराष्ट्र भारतसँग असल मित्रताको सम्बन्ध राख्नु छिमेकी नेपालको आवश्यकता हो। तर मित्रताको अर्थ आफ्नो इतिहास बिर्सनु, राष्ट्रिय सरोकारमा मौन बस्नु वा छिमेकीको नीतिमाथि प्रश्न उठाउने नागरिकलाई भारतविरोधी ठहर गर्नु कदापी होइन।

नेपाली जनता आम भारतीय नागरिकका शत्रु होइनन्। नेपाली जनताको प्रश्न भारतीय जनतासँग होइन, नेपालको सार्वभौमिकता, सीमा, स्वतन्त्र निर्णय गर्ने अधिकार र राष्ट्रिय हितसँग सम्बन्धित छ र हुन्छ ।

२०७२ सालमा लगाइएको भारतीय नाकाबन्दीबाट नेपाली जनताले भोगेको पीडा के बिर्सनैपर्ने होरु कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवादमा नेपालको पक्षमा आवाज उठाउनु के अपराध होरु देशको राष्ट्रिय हितबारे प्रश्न गर्ने नागरिकलाई पुरानो सोचको संज्ञा दिएर पन्छाउन मिल्छ?

सम्बन्ध सुधार्नुपर्छ, तर राष्ट्रिय स्वाभिमानको मूल्यमा होइन। विकास गर्नुपर्छ, तर राष्ट्रिय हितलाई कमजोर बनाएर होइन। अर्थमन्त्रीको जिम्मेवारी केवल आर्थिक सूचक प्रस्तुत गर्नु मात्रै होइनस नेपालको आर्थिक स्वायत्तता, व्यापारिक हित र दीर्घकालीन राष्ट्रिय हितको रक्षा गर्नु पनि हो। त्यसैले सार्वजनिक पदमा रहेका व्यक्तिका अभिव्यक्ति प्रश्नभन्दा माथि कदापी हुन सक्दैन ।

प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई

राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कारको वाचा गरेको हो भने जनताले राष्ट्रिय हित, पारदर्शिता र जवाफदेहिताबारे प्रश्न गर्दा स्पष्ट जवाफ दिनुपर्छ।

नयाँ पार्टी हुँदैमा सबै निर्णय सही हुँदैनन्। नयाँ अनुहार हुँदैमा सबै विचार राष्ट्रहितमा हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। डिग्री, लोकप्रियता, सामाजिक सञ्जालको प्रचार र चुनावी विजयले कसैलाई पनि जनताको प्रश्नबाट उन्मुक्ति दिँदैन।

नेता कुनै पनि दलको होस्—राष्ट्रिय हितमाथि प्रश्न उठेमा जवाफ दिनैपर्छ। देशभन्दा ठूलो पार्टी होइन। नागरिकभन्दा ठूलो नेता होइन। संविधानभन्दा माथि कुनै राजनीतिक शक्ति हुँदैन ।

नागरिकले के गर्ने?

हामी नेपाली जनतालाई हिंसा, तोडफोड वा व्यक्तिगत घृणाको बाटो होइन, सङ्गठित र शान्तिपूर्ण नागरिक प्रतिरोधको बाटो रोज्न आह्वान गर्दछौँ।

– राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र जनताको हितबारे स्पष्ट जवाफ मागौँ।

– राजनीतिक दलका आश्वासन होइन, उनीहरूका निर्णय, काम र जवाफदेहिताको मूल्यांकन गरौँ।

– राष्ट्रिय हितविपरीत काम गरेको विश्वसनीय आधार भेटिएमा प्रमाणसहित प्रश्न उठाऔँ र कानुनी तथा संवैधानिक निकायमा उजुरी गरौँ।

– आगामी निर्वाचनमा दलको झन्डा, लोकप्रिय अनुहार वा प्रचारका आधारमा होइन, उम्मेदवारको इमानदारी, क्षमता, काम र सार्वजनिक प्रतिबद्धताका आधारमा मत दिऔँ।

– जनताको प्रश्नलाई बेवास्ता गर्ने र जवाफदेहिताबाट भाग्ने राजनीतिक नेतृत्वविरुद्ध शान्तिपूर्ण नागरिक बहिष्कार, सार्वजनिक बहस, हस्ताक्षर अभियान र लोकतान्त्रिक दबाब सञ्चालन गरौँ।

हाम्रो स्पष्टता

हामी भारतसँग शत्रुता चाहँदैनौँ। हामी सम्मानपूर्ण मित्रता चाहन्छौँ। हामी विकासको विरोध गर्दैनौँ। हामी राष्ट्रिय हितलाई कमजोर पार्ने कुनै पनि निर्णयमाथि प्रश्न गर्ने अधिकारको रक्षा गर्छौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा अन्य कुनै दल—देशको हितभन्दा दलको स्वार्थ ठूलो ठान्ने राजनीतिक संस्कारलाई नेपाली जनताले अस्वीकार गर्नुपर्छ।

नेता बदलिनु मात्रै परिवर्तन होइनस राजनीतिक संस्कार बदलिनु वास्तविक परिवर्तन हो। चुनाव जित्नु मात्रै जनताको विश्वास जित्नु होइनस जनताको प्रश्नको जवाफ दिन सक्नु नै नेतृत्वको परीक्षा हो।

अब नागरिकले दलका अन्धसमर्थक होइन, राष्ट्रका सचेत पहरेदार बन्नुपर्छ। देशको हितमा काम गर्ने नेतृत्वलाई समर्थन गरौँ, जनताको प्रश्नबाट भाग्ने नेतृत्वलाई लोकतान्त्रिक रूपमा जवाफदेही बनाऔँ।

देश पहिलो, जनता पहिलो, संविधान पहिलो—दल र नेता त्यसपछि १ नागरिक जागौँ, राष्ट्रिय स्वाभिमान जोगाऔँ, जवाफदेही राजनीति स्थापित गरौँ !

(संयोजक, द डार्क फाइल अभियान तथा स्वतन्त्र नागरिक अभियान)

 

 

 

 

 

 

 

जनआस्थाबाट साभार