‘मामाको धन फुपुको श्राद्ध’ !

  • Clock icon
    २०८३ कार्तिक १५, शनिबार

काठमाडौं महानगरपालिकाको आयोजनामा काठमाडौं फिल्म फेस्टिभल सुरु भएको छ ।

नेपाली चलचित्रको संरक्षण, कला–संस्कृति तथा सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको महोत्सवका लागि महानगरले करिब पाँच करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ।

महोत्सवका नाममा गरिएको बजेट बाँडफाँड र खर्च प्रक्रियामाथि भने गम्भीर प्रश्न उठाइएको छ। महानगरको नगरसभाबाट स्वीकृत बजेटलाई कार्यपालिकाको निर्णय भन्दै उच्च कर्मचारीहरूको समूहले टुक्राएर खर्च गर्न लागेको आरोप छ।

पाँच करोड रुपैयाँको बजेटलाई पाँच लाख र १० लाख रुपैयाँका ५४ वटा साना योजनामा विभाजन गरी कोटेससनमार्फत् निकट व्यक्तिहरूलाई परामर्शदाता नियुक्त गरिएको स्रोतको दाबी छ।

महानगरको सम्पदा विभाग र राजस्व विभागको बजेटसमेत फिल्म फेस्टिभलका नाममा खर्च गर्न लागिएको विषयले महानगरभित्र विवाद उत्पन्न भएको हो । एउटा स्क्रिन राख्न करिब १० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव आएपछि महानगरमा प्रश्न उठेको थियो।

त्यसपछि उक्त विषयमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको अध्यक्षतामा बसेको बैठकले खर्चको जिम्मेवारी सूचना विभागलाई दिने निर्णय गरिएको बताइन्छ ।

महानगरको ५५औँ नगरकार्यपालिका बैठकको सातौँ बुँदामा फिल्म फेस्टिभलको कार्ययोजना तथा बजेट बाँडफाँडसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको छ । तर, स्वीकृत बजेट कार्यान्वयनको प्रक्रिया र खर्चको पारदर्शितामाथि भने प्रश्न उठेको छ।

महानगरका कतिपय कर्मचारीले कार्यवाहक मेयर सुनिता डंगोलले फिल्म फेस्टिभललाई आफ्नो राजनीतिक पहिचान स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

पर्सिसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार र निर्देशक सहभागी छन् ।

महोत्सवमा भाग लिन भारतीय अभिनेत्री शबाना आजमी, जापानी निर्देशक ताकायुकी नाकामुरा, फिल्म विज्ञ मार्को मुलरलगायत काठमाडौं आएका छन् ।