एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यस वर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो ।
बैंकको खुद नाफा भने ४ दशमलव ३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
इम्पेरमेन्ट चार्ज करिब २२ प्रतिशत घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेपछि खुद नाफा बढेको हो । गत वर्ष यस्तो चार्ज १ अर्ब १८ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा भने साढे १६ प्रतिशत घटेको छ ।
यसैगरी, बैंकको निष्क्रिय कर्जा अनुपात ६ दशमलव ९९ प्रतिशतबाट बढेर ९ दशमलव ८१ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५३ पैसा रहेको छ ।
