नेपाल डेरी एसोसिएसनद्वारा “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” भव्यतापूर्वक सम्पन्न
नेपाल डेरी एसोसिएसनको आयोजनामा असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले “दही चिउरा खाने विशेष कार्यक्रम २०८२” आज राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अध्यक्षता गर्नु भएको थियो भने नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो। विशेष अतिथिमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डेरी क्षेत्रका अगुवा, विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सामाजिक अभियन्ता, युवा तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दही चिउरा असार १५ को परम्परागत आहार मात्र नभई किसान, कृषक र डेरी व्यवसायी प्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुग्ध व्यवसायको मूल्य र महत्व उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दही चिउरा हाम्रो मौलिक परम्पराको अभिन्न अंग भएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकता औंल्याउँदै यस्ता सांस्कृतिक कार्यक्रमहरूले कृषि र डेरी क्षेत्रमा गरिने योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै डेरी व्यवसायीहरूलाई किसानको पैसा बेलैमा चुक्ता गर्न आग्रह गर्नुभयो। साथै उहाँले देशमा ११ देखि १३ लाख टन रासायनिक मलको माग भए तापनि हालसम्म ४ लाख टनभन्दा बढी मल ल्याउन नसकिएको जानकारी दिँदै किसानको आवश्यकता पुरा गर्न नसक्नु दु:खद पक्ष भएको बताउनुभयो।
मन्त्री अधिकारीले स साना बालिकाहरूलाई दही चिउरा खुवाएर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो। सो अवसरमा नवप्रभात डेरीद्वारा उत्पादित “राजा दही” ब्राण्ड पनि सार्वजनिक गरिएको थियो।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दूध तथा दुग्ध पदार्थको प्रवर्द्धन र समग्र विकासमा नेपाल डेरी एसोसिएसनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। देशभरका घरेलु, साना, मझौला तथा ठूला डेरी उद्योगहरूको छाता संगठनका रूपमा सक्रिय यस एसोसिएसनले नीतिगत सुधारका लागि निरन्तर पहल गरिरहेको छ भने किसान र उद्योगको हकहितमा समेत आवाज उठाउँदै आएको छ।
असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा धान दिवसको रूपमा मनाइने गरिन्छ भने यस दिन दही चिउरा खाने हाम्रो मौलिक परम्परा बनिसकेको छ। देशभर असार १५ मा झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ, जसबाट करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
नेपाल डेरी एसोसिएसनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता कार्यमार्फत दुग्धजन्य उत्पादनको उपभोग बढाउने, किसानलाई प्रत्यक्ष लाभ पुर्याउने र नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।