१६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।
मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २० रन बनाएको छ ।
नेपालका प्रसिद्ध जैसीले सर्वाधिक १३२ रनको योगदान दिए । यस्तै, रोनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोय थापाले ५७, सुगम बुढाथोकीले ३९ तथा रोशन शाहीले १० रन जोडे ।
इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरचड्डा, महेन्द्र पर्तामा, रियान रिजाले एक–एक विकेट लिए ।
यसअघिका दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।