शेयर बजारमा यो साता उकालो

  • Clock icon
    २०८२ असार १९, बिहीबार १५:४०

उचाइतर्फ जान कठिन भइरहेको सेयर बजारमा यो साता भने सबै कारोबार वृद्धितर्फ नै देखिएको छ। यो साता समग्रमा बजार १०८.१९ अंकले बढेको छ।

यो साता आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेको थियो। बुधबार बजार ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा पुगेको बजार साताको अन्तिम कारोबारमा बिहीबार पनि सामान्य बढेको हो।

बिहीबार ९.१४ अंकले बढेर बजार २७०३.९७ बिन्दुमा पुगेको छ। ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ। १२५ कम्पनीको शेयर मूल्य घटेको छ।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिएको थियो। यो साता सबै कारोबारमा बढेको बजारले लगानीकर्ता केही सम्हालिएका देखिन्छन्। आउने साता पनि बजार सम्हालिएर नै अघि बढ्ने देखिएको छ।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता देखिन्छन्।

 

  • Clock icon
    २०८२ असार १९, बिहीबार १५:४०