गृहत्याग दिवस : तिलौराकोटमा मनाइयो

प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुखसयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ।

२६२० वर्षअघिको घटना स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुखसुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको पूर्वी गेटबाट बाहिरिएको घटना चित्रण गरी दिवस मनाइएको हो।

लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहकार्यमा बुद्ध सर्किट डटकम नेपाल र गच्छामि मिडिया ग्रुपद्वारा तिलौराकोट परिसरमा आयोजित दिवसमा महाभिनिष्क्रमणलाई उत्सवका रूपमा प्रत्येक वर्ष मनाउनुपर्नेमा जोड दिइएको थियो।

सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेपछि महात्मा बुद्धका नामले प्रख्यात भएका थिए। युवराज सिद्धार्थले बुद्धत्व प्राप्तका लागि ज्ञानको खोजीमा आफ्नो सुखसयल त्याग गरी मानवकल्याणका लागि हिँडेकाले असार शुक्ल पूर्णिमाका दिन मनाइने यो दिवसले विशेष सन्देश दिनेछ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य र पत्रकार किरणमान बज्राचार्यलाई सांकेतिक रूपमा राजकुमार सिद्धार्थका रूपमा घोडामा चढाएर राजप्रासादको पूर्वी ढोकाबाट ज्ञानको खोजीमा हिँडेको दृश्य चित्रण गराइएको थियो।