अमेरिकाको टेक्सस राज्यमा केही दिनअघि अचानक आएको बाढीमा परी मृत्यु भएकाको संख्या १२० पुगेको छ भने १६१ जना अझै बेपत्ता रहेको सीएनएनले जनाएको छ।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियासँगै बाढीग्रस्त क्षेत्र अवलोकन गर्न जाने भएका छन्।
यस क्रममा उनीहरूले टेक्ससको शहर केर्भिलमा उद्धारकर्मी र बाढीपीडित परिवारलाई भेट्न सक्छन्।
वासिङ्टनबाट निस्कने क्रममा ट्रम्पले भने, ‘कसैले पनि विश्वास गर्न सक्दैन यति छिटो -यति धेरै पानी।’
यही असार २० गते भीषण आँधीबेहरीसँगै ग्वाडालुप नदीमा भयानक बाढी आउँदा टेक्ससमा ठूलो विनाश भयो।
केही घण्टामै ठूलो वर्षा भयो। नदीमा पानीको सतह बढ्दा घर, सडक र सवारीसाधन डुबे।
ग्वाडालुप नदीको किनारमा अवस्थित क्रिस्चियन शिविर मिस्टिकुमा रहेका कम्तीमा २७ जना किशोरी र कर्मचारीको मृत्यु भयो।