नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई बाल अस्पताल निर्माणमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था किओचलाई भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।
किओचको कार्यालयमा आयोजित कार्यक्रममा सो सम्बन्धी २ संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा.भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं.७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।