हेटौँडा– १६ र १७ को सिमानामा गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको ना ४ च ४८३३ नम्बरको बलेरो गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि बुधबार दिउँसो फर्किएको छ।
मंगलबार बिहानबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा रहेको टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो।
मंगलबार टोलीले गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटरभन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुन सक्ने अनुमान गरेका थिए। टोलीका एक सदस्य भूगर्भविद् कृष्ण पाण्डेले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको सम्भावित स्थानको बारेमा पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडीको संकेत मिले पनि थप अध्ययन गर्ने वातावरण नबन्दा व्याक हुनुपरेको स्पष्ट पारे।