दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले विजयी सुरुवात गरेका छन् ।
यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ । वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा भएको थियो ।
आज बिहान भएको सो खेलमा ललितपुर महानगरपालिकाले बाग्मती गाउँपालिकालाई ७(३ गोल अन्तरले हराएको छ । कमजोर डिफेन्सको फाइदा उठाउँदै दुबै टिमले स्कोर गरेका थिए ।
ललितपुरका लागि राफिल मर्हजन र निरज मर्हजनले समान २, सनि ब्यन्जनकार , विशाल बानियाँ र नवीन कर्माचार्यले समान १ गोल गरे ।
यो खेलसँगै समूह ए बाट गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले ३–३ अंक बटुलेका छन्। बागमती गाउँपालिका र महालक्ष्मी नगरपालिकाले अंक जोडेका छैनन् ।
सोमबारै एन्फा कम्पेल्स सम्पन्न अर्को खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० ले निराश पारेको छ ।
डिफेन्डिङ च्याम्पियन काठमाडौंको जितमा राज पौडेलले २ गोल गर्दा अखिलेष कार्की , सरोज तामाङ र विराज मर्हजनले समान गोल गरे ।
सो गोदावरी बहुउदेश्य रंगशालामा खेलाउने तयारी भइरहँदा अकस्मात फेरि वर्षा भएपछि खेललाई सातदोबाटोको मैदानमा सारिएको थियो । काठमाडौं र चाँगुनारायणले मध्यपुर ठिमीसँग खेल्न बाँकी छ ।
गोदावरी बहुउदेश्यीय रंगशालामा सोमवार सम्पन्न भएको एक मात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५(० ले हराएको छ ।
दक्षिणकालीका लागि अमित तामाङले ह्याट्रिक पूरा गरे । यस्तै थप २ गोलमा एक गोल आत्मघाती उपहार र अर्को नवीन कर्माचार्यले गरे । अब दक्षिणकाली र कागेश्वरीले चन्द्रागिरी नगरपालिकासँग खेल्न बाँकी छ ।
जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रकामा १३ वटा पालिकाको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
अनुसासित टोलीलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
