संविधानले रीतिथिति, परम्परा, धर्म, जातब्यवस्थाका आधारमा सामाजिक बिभेदको शिकार बनेका केही समुदायलाई हल्का राहतको व्यवस्था गरेको छ ।
सोहीबमोजिम आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा दलित समुदायले केही प्राथमिकता पाएको छ । तर, पछिल्लो केही घटनाले भने जातका हकमा संविधानले दिएको विशेष अधिकारको अनुचित प्रयोग हुन थालेको देखाएको छ ।
विडम्बना ! उच्च पदमा पुगेका दलितमाथि कुनै आरोप लागेमा वा अपराधमा जोडिएमा जातलाई अगाडि ल्याइन्छ । ‘दलित भएकाले आरोप लगाइयो’, ‘दलित भएकाले फसाउन खोजियो’, ‘दलित माथि गएको समाजले देख्नै सक्दैन’ लगायतका टिप्पणीले सामाजिक सञ्जाल छपक्कै पारिन्छ ।रास्वपा सांसद खगेन्द्र सुनार धम्कीयुक्त अडियो काण्डमा तानिएपछि जातीय टिकाटिप्पणी झनै बढेको छ । राजदूत सिफारिसमा आर्थिक चलखेल गरेको आरोप सेलाउन नपाउँदै उनको विवादास्पद अडियो बाहिरिएको छ ।
बागमती प्रदेश सरकारकी एक पूर्व राज्यमन्त्रीलाई उनले तथानाम गालीगलौज गरेको काण्डमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले छानबिन अगाडि बढाएको छ । सङ्गसङ्गै जात देखाएर उनको बचाउ पनि गरिँदैछ । ‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक उनी साङ्लोसहित माइतीघरमा धर्ना बसेपछि आम नागरिकको नजरमा परेका थिए ।
‘दलितलाई खै ? ’ भन्दै सडकबाट सरकारलाई प्रश्न सोध्ने उनी अहिले आफैं सांसद छन् भने उनकै पार्टीको एकल सरकार छ । तर, गणेश नेपालीजस्ता दलितले राजधानीको सडकमा आफैंमाथि पेट्रोल खन्याएर आगो लगाउँदा चुइँक्क बोलेनन् । जसले एउटा गम्भीर प्रश्न उठाएको छ–विगतमा उनले दलितका लागि उठाएको आवाज स्वार्थकेन्द्रित थियो रु
एकताका कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आवध्द उनको बेग्लै पार्टीका तत्कालीन महामन्त्री दधिराम परियार भन्छन्, ‘जुनसुकै पद वा पार्टीमा रहे पनि आफ्नो समुदायको कुरा उठाउँदा के फरक पर्छ र ? तर, उनी स्वार्थकेन्द्रित देखिए ।’ खगेन्द्रले २०८२ मंसिर २४ गते “हाम्रो पार्टी, नेपाल“ निर्वाचन आयोगमा दर्ता गरेका थिए । केही समयमै सो पार्टी कुलमानको “उज्यालो नेपाल“ मा मिसियो ।
कुलमानकै चिन्ह लिएर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा लड्ने सहमति भयो । तर, उनी टिकट पाइने भएपछि रास्वपातिर लागे । जसका कारण “हाम्रो पार्टी“ बाट उज्यालोतिर गएकाहरू अलपत्र परे । उनले धोका दिएको महसुस भएकाहरू रास्वपामा आएनन् । अहिले पनि ७० प्रतिशत उज्यालोमै छन् ।
महामन्त्री परियार, भरत सुनुवार, सहमहामन्त्री जनकबहादुर जनाला, विवेक पासवान, चञ्चला पराजुलीलगायत उज्यालोको विभिन्न जिम्मेवारीमा छन् । हाम्रो नेपाल पार्टीमा हुँदा भारत प्रवास हेर्ने जनालालाई उज्यालोले सोही जिम्मेवारी दिएको छ । उनी भारत प्रवास संगठनको प्रमुख छन् । तर, खगेन्द्रसँगै रास्वपातिर गएकाहरूको साह्रै कन्तबिजोग छ ।
खगेन्द्र सांसद बने पनि उनीसँगै रास्वपामा प्रवेश गरेकाहरूले कुनै जिम्मेवारी पाएका छैनन् । उनीहरूले खगेन्द्रले आफूहरूलाई खुड्किलो मात्र बनाएको गुनासो पोख्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) ले अनुसन्धान गर्दै गरेपनि बचाउको अभियानमा लागेको आरोप छ ।
