सानिमा बैंक लिमिटेडले आगामी कार्यकालका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिले पवन कुमार आचार्यलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
निर्णय अनुसार, आचार्यको कार्यकाल आगामी माघ १२ गतेदेखि लागू हुनेछ। उनी हालसम्म बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा कार्यरत थिए।
बैंकका हालका सीइओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त हुँदैछ। उनको कार्यकाल समाप्त हुने मिति नजिकिएसँगै, गत सोमबार (कात्तिक २४ गते) बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नयाँ सीइओ आचार्यको कार्यकाल चार वर्षका लागि हुनेछ। उनी बैंकिङ क्षेत्रमा अनुभवी तथा परिणाममुखी नेतृत्वकर्ताको रूपमा चिनिन्छन्। यस नियुक्तिसँगै सानिमा बैंकले नेतृत्वमा नयाँ पुस्ताको आगमनसँगै संस्थागत निरन्तरता र व्यवसायिक सुदृढताको सन्देश दिएको छ।
