ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असार–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा, प्रतिशेयर आम्दानी (EPS) र वितरणयोग्य मुनाफा सबैमा उल्लेखनीय सुधार देखिएको छ।
बैंकले पहिलो तीन महिनामा रु. १ अर्ब ८५ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको रु. १ अर्ब ५१ करोड २१ लाखको तुलनामा २२.९२ प्रतिशतले वृद्धि भएको हो। खुद नाफा बढ्नका मुख्य कारणहरूमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिलाई बैंकले उल्लेख गरेको छ।
विवरणअनुसार खुद ब्याज आम्दानी ०.३४%, फि तथा कमिशन आम्दानी २.६२%, कुल सञ्चालन आम्दानी ५.३६% र सञ्चालन मुनाफा १०.४४% ले बढेका छन्।
खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानी (EPS) पनि बढेर रु. १९.५१ पुगेको छ, जुन गत वर्षको तुलनामा रु. २.७७ ले बढी हो। वितरणयोग्य मुनाफा रु. ४ अर्ब ८४ करोड ९५ लाख पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी रु. २२.९५ रहेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ रु. १७९.५० रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १२.१० गुणा रहेको विवरणमा उल्लेख छ।
वित्तीय संरचनाका हिसाबले बैंकको चुक्ता पूँजी रु. ३८ अर्ब ११ करोड रहेको छ। जगेडा कोषमा रु. ३० अर्ब ३० करोड सञ्चित छ। असोज मसान्तसम्म बैंकले रु. ५ खर्ब ८२ अर्ब निक्षेप संकलन र रु. ४ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेको छ।
