नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले “काठमाडौँ महोत्सव २०८२ Kathmandu Business Expo 2026 ” आयोजना गर्ने भएको छ। संघले २०८२ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा महोत्सव गर्न लागेको हो ।
नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकिय केन्द्रका रूपमा रहेका काठमाडौँ उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्न उद्देश्यका साथ यो महोत्सव आयोजना गर्ने लागिएको संघले जनाएको छ ।
संघका अनुसार स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स/होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि ट्राभल एण्ड टूर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यवसायिक क्षेत्रहरूबाट महोत्सवमा सहभागिता रहनेछ। जसले महोत्सवलाई बृहत् राष्ट्रिय व्यापारिक मन्यमा रूपान्तरण गर्ने विश्वास लिएको संघले जनाएको छ।
करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड- फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला-संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिनेछ, जसमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।
