काठमाडौँ । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताहरूलाई लक्षित गर्दै सफ्टवेयर अपडेट उपलब्ध गराएको छ, जसले सवारीको रेञ्ज र समग्र ड्राइभिङ अनुभवलाई अझ सुधार गर्नेछ। कम्पनीले सबै क्रेटा ईभी ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा पुगेर यो अपडेट गराउन आग्रह गरेको छ।
यस अपडेटमार्फत ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) लाई नेपाली सडक अवस्था र ड्राइभिङ बानीअनुसार अप्टिमाइज तथा क्यालिब्रेट गरिएको छ। अपडेटपछि हाल उपलब्ध रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म रेञ्ज वृद्धि हुने हुन्डाई नेपालले जनाएको छ।
नयाँ बीएमएस अपडेटले दैनिक आवागमनदेखि लामो यात्रासम्म क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने अपेक्षा गरिएको छ। उक्त सफ्टवेयर अपडेट हुन्डाईको देशव्यापी आधिकारिक सेवा सञ्जालमार्फत कार्यान्वयनमा ल्याइएको छ, जसका कारण सबै ग्राहकहरूले सजिलै यसको लाभ लिन सक्नेछन्।
हुन्डाई नेपालले आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नतिमार्फत उत्कृष्ट सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। भरपर्दो ब्रान्डका रूपमा परिचित हुन्डाई नेपाल ६३ भन्दा बढी रिल्याक्स रिचार्ज नेटवर्क, सुदृढ आफ्टर–सेल्स सेवा सञ्जाल तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टबाट सशक्त छ। उक्त प्लान्ट नेपालकै एक मात्र चारपांग्रे सवारी साधन एसेम्ब्ली प्लान्ट हो, जसले हुन्डाई नेपालको दीर्घकालीन ग्राहक सन्तुष्टि र विश्वसनीय सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।
