जडीबुटीबाट समृद्धिको नयाँ सम्भावना

काठमाडौँ । नेपाल अमूल्य जडीबुटी तथा जैविक विविधतामा धनी भए पनि स्वदेशी जडीबुटीको पूर्ण उपयोग हुन नसक्दा अपेक्षित आर्थिक लाभ लिन नसकेको सरोकारवालाले बताएका छन् ।

वनस्पति विज्ञ, व्यवसायी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूका अनुसार कच्चा पदार्थका रूपमा जडीबुटी निर्यात हुने परम्पराले मूल्य अभिवृद्धि हुन नसकेको र यसलाई ब्रान्डिङ तथा प्रशोधनमार्फत आर्थिक समृद्धिको आधार बनाउन सकिने सम्भावना रहेको छ ।

वनस्पति विभागका अनुसार नेपालमा ८१९ प्रजातिका जडीबुटी पहिचान भइसकेका छन्, जसमध्ये ३३ प्रजातिलाई आर्थिक विकासका लागि प्राथमिकतामा राखिएको छ । करिब १२० प्रजातिको खेती भइरहेको छ भने २०० भन्दा बढी प्रजातिबाट सुगन्धित तेल उत्पादन गर्न सकिने क्षमता रहेको छ ।

हाल नेपालको जडीबुटी निर्यात विश्व बजारमा करिब ०.००६ प्रतिशत मात्र रहेको छ । गत आर्थिक वर्षमा करिब २ अर्ब ४ करोड रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । औसतमा वार्षिक १ अर्ब २४ करोड रुपैयाँ बराबरको जडीबुटी निर्यात हुँदै आएको छ, जसको ठूलो हिस्सा कच्चा रूपमा बाहिरिने गरेको छ ।

वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईका अनुसार संरचना सुधार, अनुसन्धान, प्रविधि विकास तथा निजी–सामुदायिक सहकार्य विस्तारमार्फत जडीबुटी क्षेत्रलाई आर्थिक वृद्धिको महत्वपूर्ण आधार बनाउन सकिनेछ । स्वदेशमै प्रशोधन गरी औषधि उत्पादन गर्न सके यस क्षेत्रले ठूलो आर्थिक योगदान दिन सक्ने उनको भनाइ छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पामारोजा, लेमनग्रास, सिट्रोनेला, मेन्था र केमोमाइलजस्ता उत्पादन गर्दै आएको छ । साथै, ‘सन्चो’, ‘हिमालयन मसाज आयल’ र ‘शिलाजित पेस्ट’ जस्ता उत्पादन बजारमा उपलब्ध भए पनि उच्च लागतका कारण उत्पादन विस्तारमा चुनौती रहेको कम्पनीले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका अनुसार कानुनी जटिलताका कारण जडीबुटी उत्पादन र ओसारपसारमा समस्या देखिएको छ । महासङ्घका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले आवश्यक सहजीकरण, अनुदान र बजार व्यवस्थापन भएमा यो क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने बताएका छन् ।

वनस्पति विज्ञ नवीन जोशीका अनुसार जडीबुटीको प्रशोधन र ब्रान्डिङमार्फत उच्च मूल्य प्राप्त गर्न सकिन्छ भने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले यस क्षेत्रलाई औद्योगिक उत्पादन र निर्यातको बलियो आधार बनाउन सकिने धारणा व्यक्त गरेका छन् ।

सरोकारवालाहरूले जडीबुटी क्षेत्रलाई वैज्ञानिक अनुसन्धान, प्रशोधन उद्योग र अन्तर्राष्ट्रिय ब्रान्डिङसँग जोडेर देशको समृद्धिको नयाँ स्रोत बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।