काठमाडौँ, ४ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनलाई आक्रामक रूपमा अघि बढाउँदै एकैदिन ५३ वटा फर्मको निरीक्षण गरेको छ।
विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए/नभएको, उपभोक्तालाई आवश्यक जानकारी प्रदान गरिएको/नगरिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान कार्यान्वयन भए/नभएको विषयमा केन्द्रित भई अनुगमन गर्दै आएको जनाएको छ।
पछिल्ला दिनहरूमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि नियमित अनुगमन गर्दै आएको छ। सोही क्रममा बिहीबार काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। साथै, स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन भइरहेको विभागले स्पष्ट पारेको छ।
