काठमाडौं । तारा मानन्धर पुनः बैंकिङ क्षेत्रमा फर्किएका छन्। उनलाई मुक्तिनाथ विकास बैंक को सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ।
वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी वर्तमान सिइओ प्रद्युम्न पोखरेल को कार्यकाल सकिएपछि जेठ १ गतेदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
यसअघि मानन्धर प्रभु बैंक मा डेपुटी सिइओ, साबिक कैलाश विकास बैंक मा डेपुटी सिइओको रूपमा कार्यरत थिए। पछि कैलाश बैंक कैलाश बैंक प्राइममा मर्ज भएपछि कनिष्ठ पद दिइएको भन्दै उनले राजीनामा दिएका थिए। त्यसपछि उनी दुई वर्षअघि डिसहोम को सिइओ बनेका थिए।
मानन्धरसँग बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेको छ। उनले यसअघि नेपाल बंगलादेश बैंक बाट आफ्नो करियर सुरु गरेका थिए। साथै साबिक एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक तथा साबिक बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक मा समेत काम गरेको अनुभव छ।
स्याङ्जा स्थायी घर भएका मानन्धर हाल काठमाडौंको टोखामा बस्दै आएका छन्। बैंकिङ क्षेत्रमा उनको पुनरागमनले मुक्तिनाथ विकास बैंकको व्यवस्थापनमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
