काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सक्षम बनाउने सम्बन्धमा सम्झौता भएको छ।
एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान ले सम्झौतापत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरेका हुन्।
एनसीएचएलको इएफटी स्वीच ‘नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस)’सँग एकीकृत भइसकेको छ। यस सम्झौतापछि माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबार प्रोसेस गर्न सकिने व्यवस्था हुनेछ।
पहिलो चरणमा बैंकले आफ्ना १९९ भन्दा बढी एटीएम र ३ हजारभन्दा बढी पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ सेवा सक्षम बनाउनेछ। त्यसपछि क्रमशः ग्राहकलाई कार्ड जारी गर्ने योजना रहेको छ।
एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक सञ्चालन सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय साझेदार डिस्कभर नेटवर्कमार्फत नेपालपे कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेपालपेले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकद्वारा जारी कार्डहरू नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने बनाएको छ।
हाल एनसीएचएलको इएफटी सेवामार्फत १० वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड प्रणाली प्रोसेस गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्विचबीचको एकीकरणपछि अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको हो। अन्य सदस्य बैंकहरूले पनि नेपालपे कार्ड जारी तथा अक्वायर गर्ने तयारी गरिरहेका छन्।
हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन्। दुई वाणिज्य बैंकले कार्ड जारी सुरु गरिसकेका छन् भने तीन वाणिज्य बैंकले अक्वायरिङ सेवा सञ्चालनमा ल्याइसकेका छन्। आगामी दिनमा यसको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ।
माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकका देशभर १६५ शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९९ एटीएम सञ्चालनमा छन्। साथै, ४ लाखभन्दा बढी कार्डहोल्डर ग्राहक रहेको बैंकले पछिल्लो समय डिजिटल रूपान्तरणलाई तीव्रता दिएको जनाएको छ।
