हाइब्रिड तालिम सफल, सीप अभिवृद्धि

काठमाडौं । नाइमा को समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ।

विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटा का नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालिम आयोजना गरिएको हो।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालय का डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थी तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। उनीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको थियो।

तालिमका सहभागीहरूले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा र मर्मतसम्भारबारे महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन्। यसअघि उनीहरूले गत चैतमा लक्ष्मी हुन्डाई मा आयोजित तीन दिने विद्युतिय सवारीसाधन तालिममा पनि सहभागिता जनाएका थिए। साथै, हाइब्रिड प्रविधिमा केन्द्रित ‘मोबिलिटी संवाद’ कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी लिएका थिए।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल ले यस्ता तालिमले विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

त्यस्तै, सीटीइभिटी का उपनिर्देशक खुशीराम अधिकारी ले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए। नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उनले उल्लेख गरे।

प्रदीप न्यौपाने, बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालय का उपप्राचार्यले अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राख्दै यस्ता तालिमले विद्यार्थीलाई व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको बताए।

कार्यक्रमको समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेज का निर्देशक सूर्यांश वैद्य ले यस्ता व्यावहारिक तालिमले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

यस तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूले प्रदान गरेका थिए भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूले सञ्चालन गरेका थिए।

नाइमाले आफ्ना प्राविधिक समिति तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहलहरूलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।