लाइसेन्स छपाइ २४ घण्टामा, सेवा सुधारको कदम

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र को निरीक्षण गर्दै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि अब २४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको जानकारी दिए। उनका अनुसार लामो समयदेखि देखिँदै आएको लाइसेन्स ढिलाइको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ।

मन्त्रीले बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको बताए। “अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्,” उनले भने।

निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापनको अभावले काम ढिला भएको उल्लेख गर्दै अब ती कमजोरी हटाइने बताए।

अर्बौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण लामो समयदेखि प्रयोगविहीन रहेको उल्लेख गर्दै मन्त्रीले ती उपकरणलाई अब पूर्ण रूपमा सञ्चालनमा ल्याइने जानकारी दिए।

उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। सरकार जनताको सेवा सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै उनले सेवा प्रवाहमा देखिएका गुनासा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।