वैदेशिक रोजगारी श्रम स्वीकृतिमा निरन्तर वृद्धि

काठमाडौँ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या २०८२ सालमा अघिल्लो वर्षको तुलनामा बढेको छ। पश्चिम एसियामा देखिएको युद्ध, भिसा रोकावट र विभिन्न अन्तर्राष्ट्रिय तनावका बाबजुद पनि वैदेशिक रोजगारीतर्फको आकर्षण बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ।

विभागका अनुसार २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म ८ लाख १८ हजार ७३० जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष २०८१ मा ८ लाख १० हजार १०८ जनाले श्रम स्वीकृति लिएका थिए। यसअनुसार श्रम स्वीकृति लिनेको संख्या १.०६ प्रतिशतले वृद्धि भएको हो।

२०८२ सालमा श्रम स्वीकृति लिनेमा ९५ हजार ७१३ महिला र ७ लाख २३ हजार १७ पुरुष रहेका छन्। औसतमा प्रत्येक महिना ६८ हजारभन्दा बढी र दैनिक करिब २ हजार २४३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीका अनुसार देशभित्र रोजगारीको सीमित अवसरका कारण विदेश जाने क्रम बढिरहेको छ। उनका अनुसार पश्चिम एसियाली देशहरू—यूएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन र इजरायल—नेपाली श्रमिकका प्रमुख गन्तव्य बनेका छन्।

तर पछिल्ला महिनामा श्रम स्वीकृति लिनेको संख्या केही घट्दो प्रवृत्तिमा देखिएको पनि विभागले जनाएको छ। २०८२ वैशाखदेखि कात्तिकसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भए पनि मंसिरदेखि चैतसम्म भने सामान्य गिरावट देखिएको हो।

२०८२ सालमा सबैभन्दा बढी श्रम स्वीकृति असारमा ७८ हजार ८८० जनाले लिएका थिए भने सबैभन्दा कम फागुनमा ५२ हजार ९४४ जनाले लिएका छन्।

विभागका अनुसार अन्तर्राष्ट्रिय राजनीतिक तनाव, युद्ध र भिसा नीतिमा भएको परिवर्तनले श्रम बजारमा अस्थिरता सिर्जना गरे पनि समग्रमा वैदेशिक रोजगारीतर्फको प्रवृत्ति भने बढ्दो नै रहेको छ।