काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार औपचारिक रूपमा बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार ठूलो संख्यामा आवेदन परे पनि सीमित लगानीकर्ताले मात्र सेयर प्राप्त गरेका छन्।
कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ८४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि नै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड गरिसकेको थियो। कुल १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएको हिस्सा वितरण गरेपछि बाँकी सेयर सर्वसाधारणका लागि उपलब्ध गराएको हो।
यस आईपीओमा उल्लेख्य संख्यामा आवेदन परेको थियो। कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो। मागभन्दा धेरै गुणा बढी आवेदन परेपछि गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडको नतिजाअनुसार ६८ हजार ४७५ जना आवेदकले मात्र १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यससँगै करिब २५ लाख ६७ हजारभन्दा बढी आवेदक सेयर पाउनबाट वञ्चित भएका छन्।
लगानीकर्ताहरूले आफ्नो नतिजा विभिन्न तीनवटा माध्यममार्फत हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
