काठमाडौँ । भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) सम्मको तथ्याङ्कअनुसार नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये वैदेशिक व्यापारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को वर्चस्व कायम रहेको देखिएको छ।
समीक्षा अवधिमा देशको कुल निर्यात २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबर पुगेको छ। यसमध्ये हवाई मार्गबाट हुने निर्यातमा त्रिभुवन विमानस्थलको हिस्सा ११.९२ प्रतिशत रहेको छ।
नौ महिनाको अवधिमा त्रिभुवन विमानस्थलबाट मात्रै २६ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरका नेपाली वस्तु निर्यात भएका छन्। यसैगरी, यस विमानस्थलबाट १ खर्ब ५७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन देशको कुल आयातको १०.५४ प्रतिशत हिस्सा हो।
अन्य अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था भने निकै कमजोर देखिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट समीक्षा अवधिमा मात्र ४६ लाख ४ हजार रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात जम्मा २ हजार ९ सय रुपैयाँमा सीमित रहेको छ।
त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट यस अवधिमा कुनै पनि व्यापारिक कारोबार नभएको तथ्यांकले देखाएको छ।
भन्सार विभागका अनुसार देशका भन्सार नाकामध्ये सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार बाट भएको छ। समीक्षा अवधिमा वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र कुल निर्यातको ३५.६९ प्रतिशत व्यापार भएको छ।
यस अवधिमा वीरगञ्ज नाकाबाट मात्र ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७९ अर्ब ५५ करोड रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाएको छ।
समग्र तथ्यांकले हवाई मार्गभन्दा स्थल नाका अझै पनि नेपालको वैदेशिक व्यापारको मुख्य आधार रहेको स्पष्ट देखाएको छ।
