काठमाडौँ । नेपालको पाइप तथा फिटिङ्स बजारमा स्थापित ब्रान्ड ‘हिलटेक’ उत्पादन गर्ने हिलटेक प्लास्टिक एन्ड पाइप इन्डस्ट्रिजको व्यापार पछिल्लो चार वर्षदेखि निरन्तर बढ्दो क्रममा देखिएको छ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार प्रतिकूल आर्थिक वातावरणका बाबजुद कम्पनीले बजार हिस्सा र कारोबार रकम उल्लेख्य रूपमा बढाएको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०२४ मा ३५ करोड रुपैयाँ कारोबार गरेको हिलटेकले २०२५ मा २०.५७ प्रतिशत वृद्धि गर्दै ४२ करोड २० लाख रुपैयाँ पुर्याएको छ। यसअघि २०२२ मा ३३ करोड २० लाख रुपैयाँ रहेको व्यापार २०२३ मा ४४ करोड ४० लाख रुपैयाँ पुगेको थियो।
कम्पनीले नयाँ प्रविधिको ‘पीभीसीओ’ पाइप उत्पादन सुरु गरेपछि यसको व्यावसायिक सम्भावना थप बलियो बनेको छ। नेपालमा यस्तो पाइप उत्पादन गर्ने सीमित उद्योगमध्ये पर्नुले हिलटेकलाई प्रतिस्पर्धात्मक लाभ दिएको छ। पूर्वाधार निर्माण तथा सरकारी खानेपानी आयोजनामा पीभीसीओ र एचडीपीई पाइपको माग बढेसँगै बिक्री र सञ्चालन मुनाफामा सुधार आएको छ।
आर्थिक वर्ष २०२४ मा २६.७७ प्रतिशत रहेको सञ्चालन मुनाफा २०२५ मा बढेर ३१.२६ प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) पुगेको छ।
तर व्यापार वृद्धि भए पनि ऋणको चाप र उच्च सञ्चालन खर्चका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा परेको छ। नयाँ प्लान्ट स्थापनाका लागि लिएको ऋणका कारण कम्पनीको ऋण–स्वपुँजी अनुपात असन्तुलित बनेको छ। ‘ओभरअल गियरिङ रेसियो’ २०२४ को १.६४ गुणाबाट बढेर २०२५ मा ३.१३ गुणा पुगेको छ, जसले कम्पनीमा ऋणको हिस्सा अत्यधिक भएको देखाउँछ।
यसको प्रत्यक्ष असर खुद नाफामा परेको छ। २०२५ मा व्यापार २१ प्रतिशतले बढ्दा पनि नाफा भने करिब ९६ प्रतिशतले घटेको छ। २०२४ मा २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले २०२५ मा केवल १० लाख रुपैयाँ नाफा कमाउन सकेको छ।
कम्पनीको ब्याज तिर्न सक्ने क्षमता (Interest Coverage Ratio) ४.३६ गुणाबाट घटेर ३.७८ गुणामा झरेको छ। साथै, चालु अनुपात २.७८ बाट घटेर १.८३ पुगेको छ। कुल बाह्य दायित्व र नेटवर्थको अनुपात ३.५३ गुणा पुगेको छ, जसले आम्दानीको ठूलो हिस्सा ऋण भुक्तानीमै खर्च भइरहेको देखाउँछ।
कम्पनीले सुरुमा ७९ करोड रुपैयाँको ऋण सुविधा सीमा लिएर रेटिङ गराएको भए पनि इन्फोमेरिक्सले यसलाई घटाएर ५९ करोड २३ लाख रुपैयाँ कायम गरेको छ। दीर्घकालीन कर्जाका लागि ‘डबल बी’ र अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ पुनः पुष्टि गरिएको छ।
रिपोर्टअनुसार हिलटेकका अगाडि केही चुनौतीहरू अझै छन्। कम्पनी कच्चा पदार्थका लागि करिब ८६ प्रतिशत आयातमा निर्भर छ, जसले अन्तर्राष्ट्रिय मूल्य उतारचढाव र डलर विनिमय दरको जोखिम बढाउँछ।
त्यस्तै, कम्पनीको कार्यगत पुँजी चक्र २९९ दिनसम्म लम्बिएको छ। बजारबाट उधारो उठाउन समय लाग्ने र उच्च स्टक राख्नुपर्ने अवस्थाले नगद प्रवाहमा दबाब सिर्जना गर्न सक्ने देखिएको छ।
