इनड्राइभको विश्वस्तरमा नयाँ पहिचान

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ वल्र्ड इकोनोमिक फोरम (डब्लुईएफ) को प्रतिष्ठित ‘युनिकर्न कम्युनिटी’मा आधिकारिक रूपमा आवद्ध भएको छ। निमन्त्रणामार्फत मात्र समावेश गरिने यस समुदायमा उच्च वृद्धि दर भएका कम्पनीहरूलाई नवप्रवर्तन र विश्वव्यापी सकारात्मक प्रभावका आधारमा छनोट गरिन्छ।

नेपालका विभिन्न सहरहरूमा सेवा विस्तार गरिरहेको इनड्राइभले प्रविधिको प्रभावकारी प्रयोगमार्फत समावेशी र न्यायोचित डिजिटल अर्थतन्त्र निर्माणमा योगदान दिँदै आएको छ। कम्पनीले पारदर्शिता बढाउँदै प्रयोगकर्तालाई रोजाइको स्वतन्त्रता दिने र सरोकारवालाबीच सन्तुलन कायम गर्ने लक्ष्य राखेको जनाएको छ।

युनिकर्न कम्युनिटीमा आवद्धतासँगै इनड्राइभले निष्पक्ष पहुँच, आर्थिक अवसर विस्तार तथा समावेशीतालाई थप प्रवर्द्धन गर्ने योजना अघि सारेको छ। यसको मानव–केन्द्रित प्लेटफर्म मोडेलले यात्रु र चालकबीच प्रत्यक्ष मूल्य वार्ता गर्ने सुविधा उपलब्ध गराउँदै डिजिटल बजारमा विश्वास र पारदर्शिता मजबुत बनाएको छ।

कम्पनीले महिला उद्यमशीलता, शिक्षा, कला तथा समुदायमा आधारित विभिन्न गैरनाफामूलक कार्यक्रममार्फत सामाजिक प्रभाव विस्तार गर्दै आएको पनि जनाएको छ।

इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले युनिकर्न कम्युनिटीमा आवद्ध हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसले विश्वव्यापी विस्तारलाई थप सुदृढ बनाउने र समावेशी तथा न्यायसंगत डिजिटल अर्थतन्त्र निर्माणमा अन्तर्राष्ट्रिय संवादमा योगदान गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे।

वल्र्ड इकोनोमिक फोरम सार्वजनिक–निजी सहकार्य प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संस्था हो, जसले नवप्रवर्तन र सहकार्यमार्फत विश्वव्यापी चुनौती समाधान र दीगो विकासमा योगदान पुर्‍याउँदै आएको छ। यसको युनिकर्न कम्युनिटी ‘ग्लोबल इनोभेटर कम्युनिटी’को महत्वपूर्ण अंगका रूपमा परिचित छ।

हाल इनड्राइभ विश्वका ४८ भन्दा बढी देशका एक हजारभन्दा बढी सहरमा सञ्चालनमा रहेको छ। उदीयमान बजारहरूमा विशेष प्रभाव जमाउँदै आएको यो प्लेटफर्म विश्वकै धेरै डाउनलोड हुने मोबिलिटी एपहरूमध्ये एक बनेको छ। यसको ‘पियर–टु–पियर’ मूल्य निर्धारण प्रणालीले यात्रु र चालकलाई प्रत्यक्ष रूपमा भाडा तय गर्ने सुविधा दिँदै सेवामा पहुँच र आम्दानीमा न्यायोचितता सुनिश्चित गरेको छ।

नेपालमा पनि इनड्राइभले पारदर्शी मूल्य प्रणालीमार्फत चालक साझेदारहरूलाई सशक्त बनाउँदै सहरी तथा अर्ध–सहरी क्षेत्रमा सहज, सुलभ र विश्वसनीय यातायात सेवा विस्तार गरिरहेको छ।

युनिकर्न कम्युनिटीमा सहभागितासँगै इनड्राइभले अब विश्वका अग्रणी कम्पनी र नीतिनिर्मातासँग सहकार्य गर्दै सहरी गतिशीलता, डिजिटल समावेशीकरण र आर्थिक अवसरका नयाँ आयाम विकास गर्ने लक्ष्य राखेको छ। साथै, नेपालजस्ता उदीयमान बजारका अनुभव र चुनौतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै विश्वव्यापी संवादमा सक्रिय भूमिका निर्वाह गर्ने कम्पनीको योजना रहेको छ।