काठमाडौँ । एभरेष्ट कलर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मंगलबार बाँडफाँड सम्पन्न भएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल ले आफ्नै कार्यालयमा गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख १६ देखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर निष्कासन गरेको थियो। उक्त निष्कासनमा कुल ९० हजार ८५५ जनाले आवेदन दिएका थिए भने ९० हजार ८२० आवेदन योग्य ठहरिएको कम्पनीले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा मार्फत बाँडफाँड गरिएको हो। जसअनुसार ७ हजार ९ सय जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी ८२ हजारभन्दा बढी आवेदकले शेयर नपाएको अवस्था रहेको छ।
नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते कम्पनीलाई ७ करोड ९० लाख रुपैयाँ बराबरको कुल ७ लाख ९० हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको थियो।
पहिलो चरणको बाँडफाँड सम्पन्न भएपछि अब कम्पनीले आम सर्वसाधारणका लागि बाँकी शेयर छिट्टै निष्कासन गर्ने तयारी गरेको जनाएको छ।
वि.सं. २०६८ मा स्थापना भएको एभरेष्ट कलर लिमिटेडले विगत १५ वर्षदेखि नेपाली बजारमा रङ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले आन्तरिक तथा बाह्य इमल्सन पेन्ट्स, इनामेल, वाल पुट्टी, एक्रेलिक डिस्टेम्पर र औद्योगिक पेन्ट्स लगायतका उत्पादन गर्दै आएको छ।
