नेपाल राष्ट्र बैंकमा बजेट आउनु दुई दिन अघिको बुधबार साँझ केही कार्यकारी निर्देशक (विभागीय प्रमुख) हरुको सरुवा गरिएको छ । गभर्नर विश्व पौडेलको निर्णयानुसार तीन जना कार्यकारीको विभागीय जिम्मेवारी हेरफेर भएको छ ।
बैंकको आर्थिक अनुसन्धान विभागका डा.रामशरण खरेललाई सूचना प्रविधि विभाग पुर्याइएको छ । उनलाई कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २०८१ चैत मसान्तमा बढुवा गरेर वैशाख पहिलो सातादेखि उक्त विभागमा पदस्थापन गरेकी थिइन् । खरेललाई बढुवाको बेलामा ढुंगानाले मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिएकी थिइन् ।
सामान्यतयाः मौद्रिक अर्थशास्त्रीलाई जिम्मा दिइने तत्कालीन अनुसन्धान तथा हाल आर्थिक अनुसन्धान विभागबाट खरेललाई सरकारले बजेट घोषणा गर्नुभन्दा तीन दिनअघि हटाएको छ । बजेटका लागि उक्त विभागले फागुनदेखि नै मुलुकका विभिन्न भागमा प्रि–बजेट गोष्ठी गर्ने चलन छ ।
जेठ १५ गतेको बजेट भाषणपछि सोही विभाग आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमामा खट्ने गर्छ ।
खरेल हटाइएपछि अनुसन्धान विभागको जिम्मेवारी भुक्तानी प्रणाली विभागका डा। सत्येन्द्र तिमिल्सिनालाई दिइएको छ । उक्त विभागमा सूचना प्रविधि विभागका निश्चल अधिकारीलाई सरुवा गरिएको छ ।
