काठमाडौं — नेपाली विद्यार्थी तथा युवा नवप्रवर्तकहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङका क्षेत्रमा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता Codeavour 7.0 मा उल्लेखनीय सफलता हासिल गरेका छन्।
मे १६ र १७ मा आयोजित दुई दिने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका ६ वटा टोलीले विभिन्न विधामा पुरस्कार जित्दै देशमा STEAM शिक्षाको बढ्दो प्रभाव र प्रविधि नवप्रवर्तनको सम्भावना उजागर गरेका छन्।
प्रतियोगितामा SkillsUp Global, Uthan Robotics Lab, Beyond Apogee लगायत विभिन्न विद्यालय तथा संस्थाका विद्यार्थीहरूको सहभागिता रहेको थियो। यसमा Asia Pacific School, Budhanilkantha School, St. Joseph’s Secondary School, Reliance Public School, Laligurans National Academy लगायतका विद्यालयका विद्यार्थीहरू सहभागी थिए।
विद्यार्थीहरूले स्वास्थ्य, वातावरण, कृषि, सहायक प्रविधि र दिगोपन जस्ता क्षेत्रमा देखिएका वास्तविक समस्याको समाधानमुखी परियोजनाहरू प्रस्तुत गरेका थिए।
यस संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूमा प्रसन्न के.सी., सभ्यता उप्रेती, शिवांश रावल, रिवाज माकजू, प्रणव जुंग अधिकारी र गुणजन शर्मा कर्ण नेतृत्वका समूहहरू रहेका थिए।
स्पार्क सिङ्क टोली (प्रसन्न के.सी., रोहन शाह र प्रभावनाथ उप्रेती) ले “स्पार्की बडी” परियोजनाका लागि कन्सोलेसन प्राइज (जुनियर समूह) प्राप्त गरेको छ। यो एआई आधारित एडीएचडी सहयोगी रोबोट हो, जसले बालबालिकालाई ध्यान केन्द्रित गर्न, भावना व्यवस्थापन गर्न, औषधि सम्झन र दैनिक कार्य तालिका पालन गर्न सहयोग गर्छ।
त्यस्तै, NP_Ped टोली (सभ्यता उप्रेती, प्राञ्जल अधिकारी र लोनी गुरुङ) ले “कार्बन क्यास्केड” परियोजनाका लागि गर्ल्स इन STEM अवार्ड जितेको छ। यसले परम्परागत चुलोबाट निस्कने धुवाँ कम गर्ने र संकलित कार्बन डाइअक्साइडलाई कृषिमा पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ।
Sewa Tech टोली (शिवांश रावल, अनिश प्याकुरेल र युनिक विक्रम मल्ल) ले “ओम्नी” नामक स्मार्ट औषधि व्यवस्थापन प्रणाली विकास गरी टेक फर एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ। यसले स्वचालित औषधि वितरण, एआई आधारित औषधि पहिचान र भ्वाइस रिमाइन्डर सुविधा प्रदान गर्छ।
Aqua Tech Titans (रिवाज माकजू, आरव ढकाल र जिसान तामाङ) ले “वाटर पल्स इन्टेलिजेन्स” परियोजनाका लागि नेक्स्ट जेन हेल्थ इनोभेटर अवार्ड जितेको छ। यो अन्डरग्राउन्ड पानीको स्तर र प्रदूषण वास्तविक समयमा मापन गर्ने आईओटी प्रणाली हो।
Air Nova टोली (प्रणव जुंग अधिकारी र आवर्त रेग्मी) ले “एयर ग्रो स्मार्ट सिस्टम” परियोजनाका लागि फ्युचर फ्रन्टियर इनोभेटर अवार्ड प्राप्त गरेको छ। यसले हावा गुणस्तर अनुगमन र हरितगृह प्रविधिलाई संयोजन गर्दै दिगो कृषिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
DEBSS टोली (सृष्टि शंकर, गुणजन शर्मा कर्ण र परिभाषा पाठक) ले “एरोसेन्स” परियोजनाका लागि कन्सोलेसन प्राइज (सिनियर समूह) प्राप्त गरेको छ। यो पोर्टेबल आईओटी आधारित हावा गुणस्तर मापन प्रणाली हो।
प्रतियोगिताको तयारीका क्रममा विद्यार्थीहरूले महिनौँसम्म अनुसन्धान, कोडिङ, प्रोटोटाइप निर्माण, परीक्षण र सुधार कार्य गरेका थिए। उनीहरूले एआरडुइनो, एआई मोडेल, सेन्सर र अटोमेसन जस्ता प्रविधिहरूमा व्यवहारिक ज्ञान हासिल गरेका थिए।
शिक्षक, प्रशिक्षक र विद्यालयहरूको निरन्तर सहयोगले उनीहरूको तयारीलाई थप सुदृढ बनाएको थियो। आयोजक संस्थाले पनि कार्यशाला, प्राविधिक मार्गदर्शन र प्रस्तुति अवसरमार्फत सहयोग पुर्याएको थियो।
यस सफलताले नेपालमा एआई, कोडिङ र रोबोटिक्स शिक्षाको सम्भावना अझ मजबुत भएको देखाएको छ। साथै, यसले स्वास्थ्य, वातावरण, कृषि र दिगोपन जस्ता क्षेत्रमा व्यावहारिक समाधान विकास गर्न नेपाली विद्यार्थी सक्षम रहेको पुष्टि गरेको छ।
यो उपलब्धिले भविष्यका नवप्रवर्तकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
