बजेटमा शिक्षा-विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालनमा प्रोत्साहन

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

सरकारले शिक्षामा बजेट बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ का लागि कूल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड प्रस्तुत गरे । जसमध्ये शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको बताए । यो रकम प्रस्तावित कुल बजेटको १० दशमलव २८ प्रतिशत देखिन्छ ।

आर्थिक वर्ष २०८२-८३ मा शिक्षामा २ खर्ब ११ अर्ब १७ करोड बजेट छुट्याइएको थियो । यो वर्ष ७ अर्ब रकम बढेको छ । सरकारले गुणस्तरीय शिक्षामा जोड दिएको दाबी गरेको छ । तर बजेटसँगै घोषित शिक्षाका कार्यक्रममा प्राज्ञहरूले मिश्रित धारणा राखेका छन् ।

सरकारले विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालनमा प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘अन्तर्राष्ट्रिय विश्वविद्यालयका क्याम्पस सञ्चालन गर्न नीतिगत प्रोत्साहन गर्ने ।’ २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या नेपालमा ५७ वटा पुगेको छ ।

विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालन गर्न शिक्षा मन्त्रालयले अनुमति दिने गरेको थियो । यसलाई अब नीतिगत व्यवस्था गर्ने निर्णयमा सरकार पुगेको हो ।

अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई सञ्चालन गर्न नीतिगत व्यवस्था गर्ने भनिएको छ । साथै स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदानप्रदान कार्यक्रम सुरु गर्ने योजना सरकारको छ ।

 

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार