अन्नपूर्णको गौरवमय ७६ वर्ष

म्याग्दी । विश्व पर्वतारोहण इतिहासमा विशेष स्थान बनाएको अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथममा मानव पाइला पुगेको ऐतिहासिक दिनको सम्झनामा बुधबार यसको ७६औँ आरोहण दिवस मनाइएको छ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा फैलिएको अन्नपूर्ण प्रथम हिमाल विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो पटक सफल आरोहण भएको शिखरका रूपमा परिचित छ। यही कारणले अन्नपूर्णलाई ‘जेठो हिमाल’ समेत भनिन्छ।

इतिहासअनुसार सन् १९५० जुन ३ मा फ्रान्सका पर्वतारोही मौरिस हर्जोग र लुई लाचेनाल नेतृत्वको टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो। यो उपलब्धिले विश्व पर्वतारोहण क्षेत्रमा नयाँ युगको सुरुआत गरेको मानिन्छ। अन्नपूर्णको सफल आरोहण भएको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा अवस्थित छ। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र साहसिक पर्यटनका कारण यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

पर्यटन विभागको तथ्याङ्कअनुसार अघिल्लो वर्षसम्म अन्नपूर्ण प्रथम हिमालमा कुल पाँच सय ३६ जनाले सफल आरोहण गरिसकेका छन्। चालु वर्षको वसन्तयाममा भने चारवटा आरोहण टोलीका २७ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका थिए।

नेपालको पर्वतारोहण इतिहासमा विशेष महत्व बोकेको अन्नपूर्ण प्रथमले सात दशकभन्दा बढी समयदेखि विश्वभरका साहसिक पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्दै आएको छ। यसको ऐतिहासिक विरासत, प्राकृतिक भव्यता र साहसिक चुनौतीले अन्नपूर्णलाई विश्व पर्वतारोहण समुदायमा विशिष्ट पहिचान दिलाएको छ।