प्रहरीको लागूऔषध ब्यूरोको टोलीले आज शनिबार ललितपुरको गैरीगाउँमा हवाई फायर गरेर लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार, बाराको सिम्रौनगढबाट काठमाडौँ आउँदै गरेको कारमा लागूऔषध ट्रामाडोल रहेको जानकारी पाएसी प्रहरी टोली खटिएको थियो।
ब्यूरोको टोलीले आज शनिबार ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको कारलाई रोक्न खोज्दा चालकले कार हुइकाएपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले एक राउन्ड हवाइ फायर गरेपछि कार रोकिएको थियो। त्यसपपिछ प्रहरीले खानतासी गर्दा डिक्कीभित्र लुकाइ राखेको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद गरिएको रेग्मीले बताए।
बागमती प्रदेशको बीएडी ९२०१ नम्बरको रातो रंगको कारसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षी महमद सद्दाम रहेका छन्।
