ट्राफिक नियम पालना गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरीको विशेष महाअभियान

सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना महाअभियान–२०८३’ सञ्चालन गरेको छ। अभियानमार्फत सर्वसाधारण तथा सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित, व्यवस्थित र जिम्मेवार सडक संस्कृतिको विकासमा जोड दिइएको छ।

अभियान अन्तर्गत ट्राफिक प्रहरीले ट्राफिक संकेत र प्रहरीको निर्देशनको अनिवार्य पालना गर्न, निषेधित स्थान वा समयमा सवारी नरोक्न, जेब्राक्रसिङ वा आकाशे पुल प्रयोग गरेर मात्र सडक पार गर्न तथा गलत लेन वा एकतर्फी सडकको विपरीत दिशाबाट सवारी नचलाउन आग्रह गरेको छ।

त्यसैगरी, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन, तोकिएको गति सीमा ननाघ्न, रातिको समयमा बत्ती बालेर मात्र सवारी सञ्चालन गर्न, नम्बर प्लेटबिना सवारी नचलाउन र स्वीकृतिबिना सवारी साधनको स्वरूप परिवर्तन नगर्न समेत अनुरोध गरिएको छ।

ट्राफिक प्रहरीले गुणस्तरीय हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्न, सवारी साधनको प्राविधिक अवस्था ठीक राख्न, तोकिएको क्षमता तथा तौलभन्दा बढी यात्रु वा सामान नबोक्न, सार्वजनिक स्थानमा अव्यवस्थित पार्किङ नगर्न तथा सार्वजनिक सवारी चालकले यात्रुप्रति शिष्ट र सभ्य व्यवहार गर्न पनि सबैमा अपिल गरेको छ।

कार्यालयका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक तथा पैदलयात्रीमा सचेतना अभिवृद्धि र सबै पक्षको सहकार्यबाट मात्र सडक दुर्घटना न्यूनीकरण सम्भव हुने भएकाले अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले “ट्राफिक नियम पालना गरौं, दुर्घटना न्यूनीकरण गरौं” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माणमा सबैलाई साथ दिन आग्रह गरेको छ।