कोजाग्रतसँगै आज कौडा खेल्ने दिन

कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्तो टुप्पामा रङ्गिन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ती बाल्ने चलन छ । खुल्ला निलो आकाशमा ओर्लँदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ती एकदमै आकर्षक दृश्य हुने गर्दछ ।

आजैको दिन जुवा अर्थात कौडा खेल्ने चलन छ । कौडा एक प्रकारको जूवा जस्तै हो ।

साना साना कौडाहरूलाई हातले खालमा फालेर त्यस कौडाहरूको उल्टाई र फर्काई को सम्भाव्यताका आधारमा पैसा वाजीमा लगाइन्छ । आजका दिन तराइका अधिकांश गाँउहरुमा ठुलो स्वरले मार्रा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ ।

यसै वर्ष विवाह भएका नवदम्पतीहरूलाई भनेँ बेहुलाको घरमा बेहुलीका तर्फबाट व्यञ्जनहरू पठाउने चलन छ ।

यस्ता व्यञ्जनहरूमा मिठाई, भोजन, दही लगायतका परिकारहरू अनि बेहुली गाउँमा बनाएको पान पनि पठाइन्छ ।

यी व्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्ष रुपमा बेहुली पक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरू लग्दा गम्छामा राखेको दही लैजाने चलन भएको बुढापाकाहरू बताउँछन् ।

दूधलाई धेरै समय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति बाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदी बहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाइ अर्थात् साला, जेठान र भिनाजु, ज्वाँई बिचमा कौडा खेल्ने चलन पनि छ ।