आजदेखि एलपी ग्यास पुरा सिलिन्डर भरेको पाइने, मूल्य २,०६० रुपैयाँ

नेपाल आयल निगम लिमिटेडले बजारमा एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीमा सुधार भएसँगै पुनः साविककै तौल (१४.२ केजी} मा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी असार ३१ गतेदेखि मुलुकभर नै यो व्यवस्था लागू हुने जनाएको छ।

विगतमा तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी २०८२ फागुन २९ गतेदेखि ग्यास सिलिन्डरमा आधा अर्थात् ७।१ केजी मात्र ग्यास भरी बिक्री गर्ने निर्णय गरिएको थियो।

हाल इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङको अवस्थामा सुधार आएको र उपभोक्ताबाट पनि साविकको तौलकै उच्च माग भएकाले निगमले यो निर्णय लिएको हो।

१४।२ केजी सिलिन्डरको मूल्यस् साविकको पूरा तौल भएको प्रति सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकिएको छ।

यद्यपि, केही समयका लागि ७।१ केजीका सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै थरीका सिलिन्डर उपलब्ध हुन सक्नेछन्।

बजारमा दुवै प्रकारका सिलिन्डर हुन सक्ने भएकाले आम उपभोक्तालाई तौल र मूल्य यकिन गरेर मात्र ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

निगमले हाल इन्डियन आयल कर्पोरेसनबाट एलपी ग्यासको आयात नियमित भइरहेको स्पष्ट पारेको छ।

आपूर्ति सहज रहेकाले उपभोक्ताहरूलाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न समेत निगमले हार्दिक अनुरोध गरेको छ।