आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले हराएको हो।
नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे।
त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो। नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको थियो। नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्त्वपूर्ण योगदान दिए।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए।
नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग–२ मा महत्त्वपूर्ण अंक गुमाउन पुग्यो।
विश्वकप क्रिकेट लिग-२ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो।
यसअघि नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो।
त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा ३ रनले पराजित भएको थियो।
यस जितसँगै ३१ खेलमा ३८ अङ्क बटुलेको नेदरल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
त्यस्तै, ३२ खेलमा २४ अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ। ४३ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ।
