पाकिस्तानी उपप्रधानमन्त्री इशाक डारद्वारा नेपालको बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

इस्लामाबाद । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इशाक डारले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री डारले आज इस्लामाबादस्थित नेपाली राजदूतावास पुगेर बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा डारले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको बताएका छन्।

उनले जलवायु परिवर्तनले यस क्षेत्रका मुलुकहरूमा असमान रूपमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको प्रत्यक्ष प्रभाव जनजीवन, रोजगारी तथा जीविकोपार्जनका आधार र भौतिक पूर्वाधारमा परिरहेको बताए।

डारले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै बेपत्ता रहेकाहरूको सुरक्षाको प्रार्थना गरेका छन्।

उनले नेपालको राहत तथा पुनःस्थापना प्रयासमा पाकिस्तानको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिको सामना गर्न सम्भव भएसम्म सबै प्रकारको सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको समेत बताएका छन्।