सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन

  • Clock icon
    २०८३ कार्तिक १३, बिहीबार

काठमाडौं। क्रिकेटको मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ।

जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको यस अभियानमा आर्क्स ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ। आर्क्स ग्रुपको तर्फबाट अभियानका लागि प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरिएको हो।

अभियानअन्तर्गत जनकपुर बोल्ट्सले सहमतिमा तोकिएका नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्कालाई छात्राहरूको शिक्षाका लागि आर्थिक सहयोगसँग जोडिएको छ। निर्धारित व्यवस्थाअनुसार प्रत्येक विकेट र प्रत्येक छक्काबापत २ हजार रुपैयाँ योगदान गरिनेछ।

जनकपुर बोल्ट्सको पहिलो खेलमा टोलीले ९ विकेट लिनुका साथै ५ छक्का प्रहार गरेको थियो। यस प्रदर्शनका आधारमा विकेटबाट १८ हजार रुपैयाँ र छक्काबाट १० हजार रुपैयाँ गरी कुल २८ हजार रुपैयाँ अभियानका लागि संकलन भएको हो।

क्रिकेटको प्रदर्शनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने पहल

‘हरेक छक्काले उनको भविष्यलाई अगाडि बढाउँछ’ भन्ने सन्देश बोकेको ‘सिक्सेस फर हर फ्युचर’’ अभियानले मधेश प्रदेशका आर्थिक रूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच र निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ।

अभियानमार्फत कम्तीमा १० जना मधेशी छात्रालाई शैक्षिक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ। संकलित रकमबाट विद्यालय पोसाक, पुस्तक तथा शैक्षिक सामग्री, परीक्षा शुल्क, यातायात खर्चलगायत विद्यालय शिक्षालाई निरन्तरता दिन आवश्यक खर्चमा सहयोग गरिनेछ।

लाभग्राही छात्राहरूको छनोट उनीहरूको आर्थिक अवस्था र विद्यालय छाड्नुपर्ने जोखिमलाई प्राथमिकता दिएर गरिनेछ। स्थानीय विद्यालय वा शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थासँगको सहकार्यमा छात्राहरूको आवश्यकता पहिचान, सहयोग वितरण र शैक्षिक निरन्तरताको अनुगमन गर्ने योजना रहेको छ।

यस अभियानले खेलकुदलाई प्रतियोगिता र मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा तथा सामाजिक विकाससँग जोड्ने प्रयास गरेको छ। जनकपुर बोल्ट्सको मैदानभित्रको प्रदर्शनबाट संकलित रकमले मधेशका छात्राहरूको शिक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको कोष र खेलमा आधारित थप योगदानमार्फत अभियानले छात्राहरूको शैक्षिक भविष्यमा लगानी गर्ने लक्ष्य लिएको छ। जनकपुर बोल्ट्सका आगामी खेलमा टोलीले गर्ने प्रदर्शनसँगै अभियानमा थप रकम संकलन हुने अपेक्षा गरिएको छ।

‘सिक्सेस फर हर फ्युचर’’ मार्फत क्रिकेटको हरेक छक्का र विकेटलाई मैदानको उपलब्धिमा मात्र सीमित नराखी छात्राहरूको भविष्य निर्माणमा योगदान पुर्‍याउने माध्यमका रूपमा अघि बढाइएको छ।

  • Clock icon
    २०८३ कार्तिक १३, बिहीबार