अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र अवस्था पहिचान गर्न सकिने अत्याधुनिक ड्रोन-स्विट्जरल्यान्डद्धारा प्राप्त

जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण भूमिगत संरचनामा हुने दुर्घटनाका क्रममा खोज तथा उद्धारलाई सुरक्षित र प्रभावकारी बनाउन नेपालले अत्याधुनिक ड्रोन प्रविधि भित्र्याएको छ।

स्विट्जरल्यान्डले नेपाललाई सुरुङभित्र खोजी तथा निरीक्षण गर्न प्रयोग हुने विशेष प्रकारको ड्रोन उपलब्ध गराएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।

स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको ड्रोन विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी, निरीक्षण तथा अवस्थाको पहिचान गर्न प्रयोग गर्न सकिनेछ।

स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। सुरुङभित्र उद्धार टोलीलाई प्रत्यक्ष प्रवेश गराउनुअघि त्यहाँको वास्तविक अवस्था पहिचान गर्न सकिने भएकाले यस प्रविधिले जोखिम मूल्याङ्कन र उद्धारको रणनीति बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फ्लाईबिलिटीले निर्माण गरेको उक्त ड्रोन विशेष सुरक्षा घेरासहित डिजाइन गरिएको छ। सुरुङभित्र उडान गर्ने क्रममा भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि ड्रोनमा क्षति नपुग्ने र पुनः उडान गर्न सक्ने गरी यसको संरचना तयार गरिएको बताइएको छ। य

सले सामान्य ड्रोनले काम गर्न कठिन हुने साँघुरा र अवरोधयुक्त क्षेत्रमा समेत निरीक्षण गर्न सक्नेछ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा दुर्घटना हुँदा उद्धार टोलीका लागि सबैभन्दा ठूलो चुनौतीभित्रको अवस्था पहिचान गर्नु हुने गर्छ।

सुरुङको कुन भागमा क्षति पुगेको छ, कहाँ पहिरो वा संरचनागत अवरोध छ, पानीको अवस्था कस्तो छ तथा मानिस फसेको सम्भावित स्थान कहाँ हो भन्ने जानकारीबिना उद्धार टोलीलाई प्रत्यक्ष रूपमा सुरुङभित्र पठाउँदा थप जोखिम हुन सक्छ।

नयाँ ड्रोनको प्रयोगले यस्तो जोखिम कम गर्ने अपेक्षा गरिएको छ। ड्रोनमार्फत सुरुङभित्रको अवस्थाको प्रत्यक्ष निरीक्षण गरेपछि उद्धार टोलीले सम्भावित जोखिमको प्रारम्भिक मूल्याङ्कन गर्न, फसेका व्यक्तिको अवस्थाबारे सूचना संकलन गर्न तथा उद्धारका लागि आवश्यक रणनीति तय गर्न सक्नेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ प्रविधिले उद्धारकर्ताको प्रत्यक्ष प्रवेशअघि सुरुङभित्रको जोखिम पहिचान गर्न सहयोग गर्नेछ। विशेषगरी अँध्यारो, साँघुरो, अस्थिर वा अन्य कारणले मानव प्रवेश जोखिमपूर्ण हुने अवस्थामा ड्रोनमार्फत प्रारम्भिक खोज तथा निरीक्षण गर्न सकिने भएकाले उद्धार कार्य थप सुरक्षित बन्ने अपेक्षा गरिएको छ।

जलविद्युत् आयोजनाका सुरुङ, भूमिगत विद्युत् संरचना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा दुर्घटना वा विपद् हुँदा खोज तथा उद्धार कार्य जटिल हुने गरेको छ।

यस्तो अवस्थामा उद्धारकर्तालाई जोखिममा नपारी प्रविधिको माध्यमबाट पहिले घटनास्थलको अवस्था बुझ्ने क्षमता महत्वपूर्ण मानिन्छ।

नेपालमा जलविद्युत् आयोजना निर्माण र भूमिगत संरचनाको विस्तार बढिरहेका बेला सुरुङभित्र हुने सम्भावित दुर्घटनाको व्यवस्थापनका लागि यस्तो प्रविधि उपयोगी हुने देखिएको छ।

विशेषगरी उद्धार तथा खोजी कार्यमा प्रविधिको प्रयोग बढाउनेतर्फ यो ड्रोन हस्तान्तरणलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

अब नेपाल विद्युत् प्राधिकरणले आवश्यकताअनुसार जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण संरचनामा यसको प्रयोग गर्न सक्नेछ।

मानवीय उद्धारमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै नियमित निरीक्षण र जोखिम पहिचानमा समेत ड्रोनको प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता उद्धारमा मात्र सीमित नहुने अपेक्षा गरिएको छ।