काठमाडौं । संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मानवीय साझेदार संस्थासँगको समन्वयमा भोटेकोसी र त्रिशूली नदी आसपासको भीषण बाढी तथा पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी मानिसका लागि ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहयोग अपिल सार्वजनिक गरेको छ।
चार महिनाका लागि सञ्चालन हुने आपत्कालीन योजनाको नेतृत्व राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ। राहत तथा पुनःस्थापनाका लागि रसुवा, नुवाकोट र धादिङलगायत गम्भीर प्रभावित जिल्लाका विस्थापित तथा जोखिममा रहेका समुदायलाई प्राथमिकता दिइनेछ।
जाडो मौसम सुरु हुनुअघि उच्च हिमाली क्षेत्रका प्रभावित समुदायमा आधारभूत जीवनयापन सहज बनाउने र संक्रामक तथा पानीजन्य रोग फैलिन नदिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिनेछ।
राहतअन्तर्गत बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहयोग उपलब्ध गराइनेछ। विस्थापित परिवारलाई चिसो मौसममा प्रयोग हुने अस्थायी आवास सामग्री तथा सौर्य उपकरण उपलब्ध गराइनेछ।
त्यस्तै, क्षतिग्रस्त खानेपानी संरचनाको मर्मत, तत्काल पानी शुद्धीकरण प्रणाली स्थापना तथा सरसफाइ सामग्री वितरण गरिनेछ। घुम्ती स्वास्थ्य टोलीमार्फत उपचार तथा पोषण सहयोग उपलब्ध गराउनुका साथै बाल संरक्षण टोलीले परिवारबाट छुट्टिएका बालबालिकाको खोजी तथा पुनर्मिलनमा काम गर्नेछ।
खाद्य सुरक्षातर्फ तत्काल खाद्यान्न वितरणका साथै बाँचेका पशुधनको संरक्षण र व्यवस्थापनमा सहयोग गरिनेछ। यसबाट प्रभावित परिवारको कृषि तथा जीविकोपार्जन जोगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले जाडो सुरु हुनुअघि दुर्गम बस्तीमा आश्रय, स्वच्छ पानी, स्वास्थ्य सेवा, संरक्षण र आर्थिक सहयोग पुर्याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताएकी छन्।
