कुमारी बैंक अब कार्बन उत्सर्जनको हिसाब राख्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा व्यवस्थापनमा पारदर्शिता बढाउने उद्देश्यले वित्तीय संस्थाको कार्बन लेखांकनसम्बन्धी अन्तर्राष्ट्रिय साझेदारीमा औपचारिक रूपमा आबद्ध भएको छ।

साझेदारीमा आबद्ध भएपछि बैंकले आफ्ना कर्जा तथा लगानीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन तथा सार्वजनिक विवरण तयार गर्नेछ। यसका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त कार्बन लेखांकन मापदण्ड प्रयोग गरिनेछ।

यस पहलले बैंकको जलवायु जोखिमसम्बन्धी तथ्यांक संकलन, जोखिम व्यवस्थापन प्रक्रिया तथा दिगो वित्तीय गतिविधिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसबाट नेपाललाई न्यून कार्बनयुक्त अर्थतन्त्रतर्फ अघि बढाउन समेत सहयोग पुग्ने बैंकको विश्वास छ।

कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार कर्जा तथा लगानीबाट हुने कार्बन उत्सर्जनको नियमित मापनले आगामी जलवायु रणनीति निर्माण, पारदर्शिता अभिवृद्धि र दिगो लगानीसम्बन्धी निर्णयलाई थप प्रभावकारी बनाउनेछ।

हाल कुमारी बैंकको देशभर २७९ शाखा, २९६ एटिएम, ४१ विस्तार काउण्टर र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन्। बैंकले १ हजार २३३ विद्युतीय भुक्तानी उपकरण, डिजिटल तथा मोबाइल बैंकिङ सेवा र अन्तर्राष्ट्रिय भिसा कार्ड भुक्तानी सुविधा पनि प्रदान गर्दै आएको छ।

विश्वव्यापी रूपमा यो साझेदारी सन् २०१९ को सेप्टेम्बरमा सुरु भएको हो। हाल यसमा ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध छन्। सहभागी संस्थाहरूले कर्जा तथा लगानीबाट हुने कार्बन उत्सर्जनको विवरणलाई एकरूप बनाउन वित्तीय क्षेत्रका लागि विश्वव्यापी हरितगृह ग्यास लेखांकन तथा प्रतिवेदन मापदण्ड विकास र प्रयोगमा सहकार्य गर्दै आएका छन्।