काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म घोषणा भएकामध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
विभिन्न संस्थाले प्रस्ताव गरेको लाभांश यसप्रकार छ :
ग्लोबल आइएमई बैंक : १० प्रतिशत
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
एभरेस्ट बैंक : १५ प्रतिशत
एभरेस्ट बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको हो।
१३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ चुक्ता पुँजीका आधारमा प्रस्ताव गरिएको लाभांश पारित गर्न बैंकले असोज १४ गते काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा ३२औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १ गते सेयरधनी दर्ता किताब बन्द हुनेछ। त्यसअनुसार भदौ ३१ गतेसम्म कायम सेयरधनी लाभांश र सभामा सहभागी हुन योग्य हुनेछन्।
सानिमा बैंक : १० प्रतिशत नगद
सानिमा बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ।
साधारण सेयरधनीका लागि १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ। अग्राधिकार सेयरधनीका लागि करसहित ८.२५ प्रतिशत लाभांशबापत ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ छुट्याइएको छ।
दुवै वर्गका सेयरधनीलाई गरी कुल १ अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव छ। लाभांश पारित गर्न बैंकले असोज १२ गते आम्रपाली ब्यांक्वेटमा २२औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। लाभांश तथा साधारणसभा प्रयोजनका लागि असोज १ गते दर्ता किताब बन्द हुनेछ।
नबिल बैंक : १५.८० प्रतिशत
नबिल बैंकले वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमा ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।
बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ।
गरिमा विकास बैंक : २० प्रतिशत
गरिमा विकास बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गरेर हालसम्म घोषणा भएका संस्थामध्ये सबैभन्दा अगाडि रहेको छ।
बैंकले ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पुँजीका आधारमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
सांग्रिला विकास बैंक : १०.५२ प्रतिशत
सांग्रिला विकास बैंकले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो।
३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्ता पुँजी रहेको बैंकले बोनस सेयरका लागि १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा र नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा छुट्याएको छ। बोनस र नगद गरी कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ।
कामना सेवा विकास बैंक : १५ प्रतिशत नगद
कामना सेवा विकास बैंकले साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। अग्राधिकार सेयरधनीलाई भने सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरिएको छ।
बैंकको कुल चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसा छ। साधारण सेयरधनीका लागि ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा र अग्राधिकार सेयरधनीका लागि १ करोड ४० लाख ६७ हजार ९२३ रुपैयाँ २९ पैसा छुट्याइएको छ।
लाभांश पारित गर्न बैंकले भदौ ३१ गते आम्रपाली ब्यांक्वेटमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। लाभांश तथा सभा प्रयोजनका लागि भदौ १८ गते दर्ता किताब बन्द भइसकेको छ। त्यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनी लाभांशका लागि योग्य हुनेछन्।
निफ्रा : ५.२६ प्रतिशत नगद
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले करसहित उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ।
