एमालेका सयौँ नेता पलायन: ३३ विभाग ९ महिनादेखि अपूर्ण

११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिना बित्दा पनि नेकपा एमालेले पार्टीका महत्त्वपूर्ण विभागहरूलाई पूर्णता दिन सकेको छैन ।

लामो समयसम्म विभागहरूलाई पूर्णता नदिँदा पार्टीका समग्र कामकारबाही प्रभावित बन्नुका साथै सयौँ नेता–कार्यकर्ता निष्क्रिय र जिम्मेवारीविहीन बन्न पुगेका छन् ।

पार्टीको आन्तरिक, साङ्गठनिक र वैचारिक कामलाई चलायमान तथा गतिशील बनाउन भूमिका खेल्ने विभागहरूले पूर्णता नपाउँदा धेरैजसो काम प्रभावित हुँदै आएको स्वयं नेताहरू बताउँछन् ।

एमालेले ११औँ राष्ट्रिय महाधिवेशन २०८२ मङ्सिर अन्तिम साता काठमाडौँको भृकुटीमण्डपमा सुरु गरेर पुस ३ गते सम्पन्न गरेको थियो ।

महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीसहित केन्द्रीय कमिटी चयन गरे पनि अहिलेसम्म केन्द्रीय विभागहरूलाई पूर्णता दिन नसकेको हो ।

विधानतः एमालेको केन्द्रमा ३३ वटा विभाग रहने व्यवस्था छ भने प्रदेश र स्थानीय तहमा समेत विभागहरू गठन गर्ने प्रावधान छ ।

केन्द्रमै विभागले पूर्णता नपाउँदा तल्ला निकायमा समेत यसको असर परेको बताइएको छ । केन्द्रमा विभागीय प्रमुख तोकिएका छन् तर उपप्रमुख, सचिव र सदस्यहरू मनोनीत भएका छैनन् ।

यसकारण एमालेको साङ्गठनिक, वैचारिक तथा अन्य गतिविधि प्रभावहीन देखिएको छ । एमालेको प्रत्येक विभागमा कम्तीमा २५ जनासम्म मनोनीत गर्ने व्यवस्था छ ।

यस आधारमा हेर्दा केन्द्रमै आठ सयभन्दा बढी नेता–कार्यकर्ता भूमिकाविहीन अवस्थामा छन् ।

नेपालका पुराना राजनीतिक पार्टीहरूमध्ये सङ्गठनमा चुस्त, दुरुस्त र प्रभावकारी ठानिँदै आएको एमालेमा पछिल्लो समय साङ्गठनिक भद्रगोल देखिएको छ ।

यसैकारण कतिपय नेता–कार्यकर्ताहरूले पार्टी गतिविधिप्रति बेवास्ता गर्दै सदस्यता नवीकरणमा समेत चासो दिन छाडेका छन् । त्यसो त गत फागुनमा भएको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको एमालेमा पार्टी पुनर्गठनको मुद्दा पछिल्लो समय थप पेचिलो बन्दै आएको छ ।

नेकपा एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवाली लामो समयसम्म पार्टीका केन्द्रीय विभागहरूले नै पूर्णता पाउन नसक्दा पार्टी काममा गम्भीर असर परेको र नेता–कार्यकर्ताहरू निष्क्रिय देखिन थालेको बताउँछन् ।

‘विभागहरू नेतृत्वविहीन हुँदा र लामो समयसम्म पूर्णता नपाउँदा कार्यकर्ताहरू निष्क्रिय हुन्छन्, निराश हुन्छन् र पलायन बढ्छ’, ज्ञवालीले नीति365 लाई भने, ‘पार्टी सदस्य नै छाड्छन् र अहिले त्यही भइरहेको पाइन्छ ।’

११औँ महाधिवेशनपछि कमिटी र महत्त्वपूर्ण विभागहरूलाई बेवास्ता गर्दा पार्टीमा गम्भीर असर परिरहेको ज्ञवालीको बुझाइ छ ।

‘अहिलेसम्म केन्द्रीय सल्लाहकार परिषद्‌समेत गठन भएको छैन’, उनले नीति365 लाई भने, ‘वर्षौँ–वर्ष काम गरेका सयौँ नेताहरू जिम्मेवारीविहीन र असङ्गठित बन्न बाध्य भएका छन् । यसले पार्टीलाई अझ ठुलो नोक्सान पुर्‍याइरहेको छ ।’ पार्टी नेतृत्वले गत फागुनमा भएको निर्वाचनबाट समेत शिक्षा लिन नसकेको र यसले एमालेको आन्तरिक जीवनमा थप सङ्कट निम्त्याउन सक्ने उनको भनाइ छ ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्य महाधिवेशनलगत्तै चुनावमा केन्द्रित हुनुपरेको, कहिले अध्यक्ष बिरामी परेको र कहिले नेतृत्वमाथि राज्यको धरपकडजस्ता घटनाले विभागहरूलाई पूर्णता दिन ढिलाइ भएको बताउँछन् ।

‘अब बस्ने केन्द्रीय कमिटी बैठकले विभागहरूलाई पूर्णता दिन्छ’, प्रचार विभाग प्रमुख आचार्यले नीति365 लाई भने, ‘यो बिचमा केन्द्रीय कमिटी बैठक पनि बस्न सकेन । अब चाँडै सचिवालय र केन्द्रीय कमिटी बैठकमार्फत विभागहरूले पूर्णता पाउँछन् ।’

नेकपा एमालेको महाधिवेशनलगत्तै पुसमा दुईपटक केन्द्रीय कमिटी बैठक बसेको थियो । महाधिवेशन हलमै बसेको पहिलो बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको थियो भने लगत्तै बसेको दोस्रो बैठकले चुनावकेन्द्रित कार्यविभाजन गरेको थियो ।

एमालेमा कुन–कुन विभाग छन् ?
एमालेमा अर्थ तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, उपभोक्ता हित संरक्षण, ऊर्जा जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी, कानुन, केन्द्रीय पुस्तकालय, खानेपानी तथा सरसफाइ विभाग छन् ।

त्यस्तै निर्वाचन, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र मामिला, प्रचार तथा प्रकाशन, पार्टी स्कुल, भूमि व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, युवा तथा खेलकुद र राष्ट्रिय हित तथा सुरक्षा विभाग रहेका छन् ।

यसैगरी वन तथा वातावरण, कोष व्यवस्थापन, विपद् व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानव स्रोत, श्रम तथा रोजगार, सङ्गठन, संसदीय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सामाजिक सेवा, सामाजिक सुरक्षा तथा समाज, सहकारी तथा गरिबी निवारण, सहरी विकास, साहित्य कला तथा संस्कृति, स्थानीय विकास र स्वास्थ्य विभाग गरी ३३ वटा केन्द्रीय विभाग रहेका छन् ।