काठमाडौं । २०८३ सालको भदौ महिनामा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहबाट संकलित एकीकृत विवरणअनुसार भदौमा घरजग्गा कारोबारबाट उक्त राजस्व संकलन भएको हो।
विभागका अनुसार भदौमा संकलित कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरको रहेको छ। रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ९० करोड २१ लाख रुपैयाँ तथा पूँजीगत लाभकरबाट १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ।
त्यस्तै, सेवा करबाट १६ करोड ८२ लाख रुपैयाँ, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख रुपैयाँ तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरलगायतबाट करिब २ करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ।
उपत्यकाबाट मात्रै २ अर्ब १६ करोड
कुल घरजग्गा राजस्वको ५५ प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाका ९ वटा कार्यालयबाट संकलन भएको छ। उपत्यकाका ती कार्यालयबाट मात्रै भदौमा २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ।
उपत्यकाभित्र सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा भक्तपुर कार्यालय रहेको छ। भक्तपुरले भदौमा ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ। यसमध्ये रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ संकलन भएको छ।
त्यसपछि ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व संकलन गरेको छ।
काठमाडौंका कलंकी, चावहिल र डिल्लीबजार कार्यालयले क्रमशः ३७ करोड १२ लाख ५५ हजार ८६६ रुपैयाँ, ३३ करोड ५५ लाख २६ हजार ४५ रुपैयाँ र ३१ करोड ४३ लाख ९४ हजार ८४४ रुपैयाँ राजस्व उठाएका छन्।
उपत्यकाबाहिर पोखरा अगाडि
उपत्यकाबाहिर भने कास्कीको पोखरा कार्यालयले सबैभन्दा धेरै राजस्व संकलन गरेको छ। पोखरा कार्यालयले भदौमा १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व उठाएको छ।
त्यसपछि सुनसरीको इनरुवा कार्यालयले १५ करोड ४२ लाख १६ हजार ६८३ रुपैयाँ र रुपन्देहीको बुटवल कार्यालयले ११ करोड ८८ लाख १ हजार ८९ रुपैयाँ राजस्व संकलन गरेका छन्।
त्यस्तै, चितवनले ९ करोड ४६ लाख रुपैयाँ, भैरहवाले ८ करोड ३६ लाख रुपैयाँ, विराटनगरले ७ करोड ७६ लाख रुपैयाँ, वीरगञ्जले ७ करोड ७२ लाख रुपैयाँ र भद्रपुरले ७ करोड ५१ लाख रुपैयाँ राजस्व उठाएका छन्।
काभ्रे र जनकपुरधामले समान ६ करोड ३८ लाख रुपैयाँ तथा बेलबारीले ६ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
दाङका घोराही र तुलसीपुर कार्यालयले क्रमशः ५ करोड ३ लाख रुपैयाँ र ४ करोड ७३ लाख रुपैयाँ राजस्व उठाएका छन्। त्यस्तै, नेपालगञ्जबाट ४ करोड ७६ लाख रुपैयाँ र धनगढीबाट ३ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
हिमाली तथा विकट क्षेत्रमा कारोबार न्यून
देशका हिमाली तथा विकट पहाडी क्षेत्रमा भने घरजग्गा कारोबार तुलनात्मक रूपमा न्यून देखिएको छ।
बाजुराले भदौमा २२ हजार ६३३ रुपैयाँ, गोरखाको सिर्दिवासले २९ हजार ४०० रुपैयाँ, बझाङको झोताभैरवले ४५ हजार ७२८ रुपैयाँ, डडेल्धुराको जोगबुढाले ९९ हजार ६१४ रुपैयाँ तथा अछामले १ लाख २८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेका छन्।
भदौको तथ्यांकले घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा काठमाडौं उपत्यकाको हिस्सा अझै बलियो रहेको देखाएको छ। उपत्यकाबाहिर पोखरा, इनरुवा, बुटवललगायतका प्रमुख व्यापारिक केन्द्रमा समेत घरजग्गा कारोबारको आधार तुलनात्मक रूपमा बलियो रहेको तथ्यांकले देखाएको छ।
